Aamsanchar

राज्यले विस्थापित गराउन खोज्यो : होटल व्यवसायी

Author Image
मङ्गलवार, चैत २८, २०७९

तुलसीपुर।  होटल व्यवसायीले राज्यले कर असुलका नाममा व्यवसायीलाई विस्थापित गराउन खोजेको बताएका छन् । कोरोना महामारी र पछिल्लो समय आर्थिक मन्दीको चपेटामा परेका होटल व्यवसायीलाई राज्यले कर असुलका नाममा आतंकित बनाएको उनीहरुको गुनासो छ ।

तुलसीपुर होटल व्यवसायी समितिले सोमबार तुलसीपुरमा गरेको नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा होटल व्यवसायीले राज्यले करको नाममा व्यवसायीलाई दुख दिएको गुनासो गरेका छन् ।

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा तुलसीपुर होटल व्यवसायी समितिका सल्लाहकार नेत्रलाल वलीले आर्थिक तरलताको मारमा होटल व्यवसायी रहेको बताउनुभयो ।

उहाँले कोरोनाको समयमा रोजगारी गुमाएका कर्मचारीलाई स्थापित गराउन नसकिरहेका व्यवसायीलाई राज्यले करका नाममा विस्थापित गराउन थालेको बताउनुभयो । ‘बैंकले हामीलाई फोन गरिरहेको छ, तिमीहरु किन व्याज हाल्दैनौँ ।’ उहाँले भन्नुभयो–‘आज बैंक पनि लिलामी सम्पति किन्ने मान्छे भेटाउन सकिरहेको छैन् ।’

होटल व्यवसायीले धेरैलाई रोजगार दिएपनि राज्यबाटै अपहेलित भएको उहाँले बताउनुभयो । उहाँले दाङ सुरक्षित छ भन्ने सन्देश नजाँदा दाङका होटल व्यवसायी मारमा परेको बताउनुभयो । दश वटै पालिकाले दाङ जिल्ला सुरक्षित छ भन्ने वातावरण निर्माण गर्न सके होटेल व्यवसायीलाई राहत मिल्ने उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले परम्परागत भन्दा पनि व्यवसायीक हिसावले होटल व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तुलसीपुरमा पर्यटन क्षेत्रको विकास हुन सकेपछि होटल व्यवसाय फस्टाउने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले होटल व्यवसाय सुरक्षित बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा दाङ–देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुनले कारोबार घटेको अवस्थामा राज्यले सहुलियत दिनुपर्ने बताउनुभयो ।

गढवा होटल व्यवसायी समिति अध्यक्ष दयाराम थापा र भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेलवासेले नितिभित्र रहेर व्यवसाय संचालन गर्दा राज्यबाटै सास्ती पाएको बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका राजेश चौधरीले खाद्य सुरक्षामा जोड दिन व्यवसायीलाई आग्रह गर्नुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी व्यवसाय दर्ता गर्दा बुझेरमात्रै दर्ता गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण समितिका सचिव तुफान केसीले गर्नुभएको हो । त्यस अवसरमा २०८० सालको पात्रो बिमोचन गरिएको छ । नगरप्रमुख खड्काले पात्रोको बिमोचन गर्नुभएको हो । कार्यक्रममा आउने अतिथिलाई पिपल पातको व्याज वितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर