Aamsanchar

मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी, कार्यकर्ताको राजीनामा

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

विराटनगर – मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ। प्रशासकीय भवन बनाउने निर्णयविरुद्ध गाउँपालिका अध्यक्ष राजमति इङ्गनाम र ६ नम्बर वडाका अध्यक्ष खडगबहादुर बस्नेतको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको हो।

गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्‍याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयविरुद्ध गाउँपालिका अध्यक्ष र वडाध्यक्षको कार्यालयमा तालाबन्दी गरिए स्थानीयले बताएका छन्।

निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यालयमा तालाबन्दी गरेको स्थानीय नवीन पौडेलले बताए।

सेवाग्राहीलाई सेवा प्रवाहमा कुनै पनि कठिनाइ नहुने तरिकाले आफूहरुले आन्दोलन गरेका बताउँदै उनले  कानेपोखरी गाउँपालिको स्थानीय सरकार विधि र प्रक्रियामा चल्नुपर्ने मागसमेत गरे।

गाउँसभाको सोमबार बसेको बैठकमा भएको मतदानमा २७ जनाले गाउँपालिका र प्रशासकीय कार्यालय सार्ने पक्षमा बहुमतले पारित भएको थियो।

पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो। मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएका थिए भने ७ जनाले यथास्थानमा नै रहनुपर्नेमा मत खसालेका थिए।

मोरङको कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७८/७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ बिगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो।

गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेश गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारमा खरिद गरेको हो।
त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो।

असुन्तुष्टि जनाउँदै कार्यकर्ताको राजीनामा

जग्गामा भ्रष्टाचार भएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका ३ सय जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले  सोमबार राजीनामा दिएका थिए।

गाउँपालिकाले प्रशासनिक भवन बनाउन भनेर तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले अध्यक्ष रहेको बेलामा गाउँपालिकाले कानेपोखरी–५ मा खरिद गरेको १ बिगाहा जग्गामा १ करोड ३४ लाख रुपैयाँ बढी मूल्य हालेर जग्गा खरिद गरेको पाइएको छ।

कम मूल्यमा जग्गा बिक्री गर्ने निवेदकलाई पाखा लगाएर पालिकाले कानेपोखरी गाउँपालिका वडा नं ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा (१ बिघा जग्गा) २ करोड ५ लाखमा २०७८ असार २३ गते खरिद गरेको छ।

पालिकाले २०७७ असोज १६ गते जारी गरेको सूचना बमोजिम कम मूल्यमा जग्गा उपलब्ध गराउने उषा चापागाईँको दर्ता भएको निवेदन हटाइएको पाइएको छ।

उनले प्रतिकठ्ठा ३ लाख ५५ हजारमा जग्गा उपलब्ध गराउने प्रस्ताव दर्ता गराएकी थिइन् तर उक्त प्रस्ताव हटाएको पालिकाको तत्कालीन जग्गा व्यवस्थापन समितिले कानेपोखरी-५ को इन्द्रकुमार गिरी र सिताराम गिरीको नाममा रहेको जग्गा प्रतिकठ्ठा १० लाख २५ हजार रुपैयाँले खरिद गरेको छ।

प्रतिकठ्ठा ६ लाख ७० हजार बढी मूल्य हालेर २० कठ्ठा जग्गा खरिद गर्दा कानेपोखरी गाउँपालिकालाई १ करोड ३४ लाख रुपैयाँ व्ययभार थपिएको छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर