Aamsanchar

बिर्तामोड नगरपालिकाको तिन दिने सूचनाको समय सकियो, देवी हाटका व्यवसायीले संरचना हटाउने छाट काट देखाएनन्

Author Image
शुक्रवार, वैशाख २२, २०८०

बिर्तामोड ।  बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ स्थित देवि हाट (बुधबारे बजार) खाली गराउन जारी गरेको पछिल्लो तिन दिने सूचनाको समय अवधि पनि पुरा भएको छ । तर सो ठाउँमा व्यवसाय गर्दै आएका व्यापारीहरूले ठाउँ खाली गरेका छैनन् ।

नगरपालिकाको पटक पटकको सूचनालाई त्यहाँका व्यवसायीहरूले बेवास्ता गर्दै आएका छन् ।  नगरपालिकाले ३५ दिने, १५ दिने, १० गर्दै बैशाख १९ गते ३ दिने सूचनाहरू प्रकाशित गरिसकेको छ ।   नगरपालिकाले अन्तिम सूचना मार्फत व्यवसायीहरूलाई घर, टहरा,संरचनाहरु हटाउन आग्रह गरेको थियो । सोही सूचनामा नगरपालिकाले लेखेको छ । तोकिएको समयमा संरचनाहरू नहटाए कानुन बमोजिम सबै टहराहरू हटाउने र हटाउन लाग्ने खर्च व्यवसायीबाट असुलउपर गरिने छ, संरचना भित्र रहेको सामानमा क्षति पुगेमा सो को जिम्मेवार व्यवसायी नै हुनु पर्ने सूचनामा उल्लेख छ ।

सूचना अनुसार नगरपालिका आफ्नो निर्णय अनुसार अघि बढ्ने कि पछि हट्ने दुबिधामा परेको छ । नगरपालिकाको सूचना अनुसार भोलि देखि सो क्षेत्रमा डोजर चल्नु पर्ने हुन्छ । तर नगरपालिकाले भोलिनै देखि डोजर चलाउने तयारी गरेको छैन, नगरपालिकाले कानुनी प्रक्रिया अनुसार सूचना प्रकाशन गरिसकेको छ । अब २४ घण्टे सूचना दिन सक्छ, त्यस पछि पनि देवि हाटको संरचना खाली नभए बाध्य भएर केही दिन भित्र नगरपालिका एक्सनमा उत्रिने नगरपालिका श्रोतले बताएको छ ।

२०७२ सालमा नगरले ७२ वटा सटर बनाएर भाडा उठाई रहेको छ । सटर देखि बाहिर आफै कटेरो बनाएर व्यवसाय हुँदै आएको १३८ वटा पसलहरू रहेका छ ।  नगरपालिकाले टिडीएफ कम्पनीबाट कर्जा लिएर सो ठाउँमा बहुतले व्यवसायिक भवन बनाउन जमर्को गरेको हो । नयाँ भवन बन्ने भएपछि त्यहाँका व्यवसायीहरू विस्थापित बन्नु पर्ने भएको छ । हाल सटरमा रहेका व्यवसायीहरूलाई नयाँ भवनमा व्यापार गर्नको लागि पहिलो प्राथमिकतामा ठाउँ दिने नगरपालिकाले निर्णय गरेको छ । तर बाँकी व्यापारीहरू सूचीकृत नभएकाले ठाउँ दिन नसकिने नगरपालिकाले जनाएको छ ।

व्यवसायीहरू पनि नयाँ भवन बन्नु पर्ने पक्षमा रहेका छन् । तर ‘भवन निर्माण सम्पन्न हुन वर्षऔं लाग्ला त्यसबेला सम्म हामी कसरी बाच्नु, बालबालिका र घर परिवारको खर्च कसरी जुटाउनु, भएको रकम सबै व्यापारमा लगानी भएको छ । अब त्यो सामान कहाँ लगेर बेच्नु, कसरी सहकारीको ब्याज तिर्नु कसरी जीविको पार्जन गर्नु भन्दै विकल्प दिएर मात्र बजार खाली गर्न नगरपालिका समक्ष व्यापारीहरूले आग्रह गरेका छन् ।  नगरपालिकाले नयाँ भवन बन्ने समय अवधी सम्म  गरिखान व्यवसाय सञ्चालनको लागि उपयुक्त स्थानको व्यवस्थापन गरिदिनु पर्ने, पछि बन्ने बहँुतले व्यवसायीक भवनमा आफूहरुले व्यवसाय गर्न पाउने अधिकारको सुनिस्चिताको माग राख्दै त्यहाँका व्यवसायीहरूले नगरपालिकाको सूचनालाई बेवास्ता गरेर ठाउँ खाली नगरेका हुन् ।

बिर्तामोड उद्योग बाणिज्य संघ, बिर्तामोड नगर स्तरीय राजनीति दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, समाजवादी, रास्पा, संघीय लिम्बुवानका नेताहरुले भने नगरपालिकाले नयाँ व्यापारिक भवन बनाउने योजना ल्याउनु स्वागत योग्य छ ।  तर विकास भन्दा पहिले नागरिकको व्यवस्थापन गर्नुपर्ने दाहित्व स्थानीय सरकारको हुन्छ । व्यवसायी हरुलाई संरक्षण गर्नुपर्ने ठाउँमा उनिहरुलाई आतंकित पार्ने काम गरिएको छ । यस किसिमको कार्यले दंद्ध उत्पन्न हुन सक्ने हुँदा समास्याको समाधानको खोजी गर्न तर्फ नगरपालिका लाग्नु पर्ने र साना व्यसायीहरुलाई दमन गरेर हटाउने चेष्टा गरिएमा  व्यवसायीहरुको संरक्षणको लागि अग्र भागमा उभिने उनिहरुले व्यवसायी प्रति आस्वासन दिएका छन् ।  भेलामा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, माओवादी केन्द्रका मोहन सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भू भण्डारी, समाजवादीका श्रीप्रसाद सिटौला,संघीय लिम्बुवानका मित्र लिङदेनले व्वसायीहरुलाई साथदिने आस्वसन दिएका छन् ।

सर्वपक्षिय भेलामा देवि हाट लगाउन सुरु गर्ने मध्येका हर्कलाल गिरी र कपिलमनी शिवाकोटीले नगरपालिकाले डर त्रास देखाउने होईन, उचित समस्या समाधानको उपायहरु खोजी गर्नुपर्ने हुन्छ, उपायहरु मध्ये एक उपयुक्त उपाए भनेको हाल रहेको बजार देखि पूर्वीभागमा रहेको खाली जमिनमा ब्लक हिसावले भवन बनाई सक्ने र सो ठाउँमा व्यवसायीहरूलाई स्तान्तरण गराईसकेपछि, खाली भएको बाँकी ठाउँमा अर्को भवन बनाउनु पर्ने हुन्छ यसो गर्दा  समस्याहरु हल हुने, नगरपालिकाले एकै पटकमा ठुलो योजना सम्पन्न गराउन नसक्ने भन्ने तर्फ इङ्कित गर्दै मुख अनुसारको गाँस हाल्नु पर्ने  उनिहरुको नगरपालिकालाई सुझाव रहेको छ ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ
नगरपालिकाको नियम परिधि भित्रै रहेर लामो समय देखि व्यापार व्यवसाय संचालन गर्दै आएका सम्पूर्ण व्यपारीहरुको जिविकोपार्जनको एक मात्र आधार व्यवसायनै हो । विगत दुई महिना देखि नगरपालिकाले यस ठाँउमा बहुतले व्यवसायिक भवन निर्माण गरिने भनि आकस्मिक रुपमा ३५ दिने, १५ दिने र १० र ३ दिने सूचनाहरू प्रकाशित गरिरहदा हामी व्यवसायी सबै आतंकित र त्रसित भएका छौं । 
यस ठाँउमा बहुतले भवन बन्ने विकाश हुने कार्यमा हामी व्यवसायी हरुको पुर्ण साथ समर्थन, सहमती र सहयोग रहने छ । केवल हाम्रो वैकल्पिक व्यवस्थापन नहुदा हाम्रो जीविको पार्जन टुट्ने र सडकमै आउने स्थिती सृजना हुने हुँदा यस कुरालाई ध्यान दिन नगरपालिका, वडा समक्ष लिखित र मौखिक रुपमै पटक पटक अनुरोध गरेका छौं । वैकल्पिक व्यवस्थापन हुन सक्ने केहि जग्गा धनी व्यक्तिहरु संग कुरा गर्दा नगरपालिकाको अगुवाईमा प्रयास गर्दा वैकल्पिक व्यवस्थापन सम्भव हुने ठाँउहरु पनि नगरपालिका र वडा हरुलाई सुझाएका थियौं । यस ठाँउमा व्यवसाय गर्दै आश्रित रहेका २१० व्यवसायिका जिवनलाई हल्का रुपमा लिदै फेरी ३ दिनमा खालि नगरे अराजक शैलीमा बल प्रयोग गरिने भन्ने आसयको सूचना आउनुले हामी व्यवसायी सबैलाई झनै आतंकित र त्रसीत बनाएको छ । आज जनताको गाँस, वास र कपासको राज्यले मौलिक हक अन्तर्गत सुनिष्चित गरी जिम्मा लिएको व्यवस्थामा जन निर्वाचित प्रतिनिधिहरुले ध्यान दिनु हुनेछ भन्ने अझै पनि आशा गर्दछौं । हाम्रा माग वा भनाई केवल हाम्रो बाच्ने आधार जिविका नटुटोस भन्ने मात्र हो । यसमा राज्य पक्ष वडा, नगरपालिका सबै राजनितिक दलहरु, उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मस, उद्योग तथा व्यवसाय महासंघ, मानव अधिकारकर्मी, स्थानिय बुद्धिजिवी वर्ग, पत्रकार ज्यूहरु, सबैको ध्यान जाओस भन्ने आह्वान गर्न चाहान्छौं । हाल देशको विषम आर्थिक अवस्था र सम्पूर्ण व्यवसायहरु धरायासी भईरहेको अवश्थामा नगरपालिकाले व्यवसायिहरुको रोजीरोटी माथी प्रहार गर्ने कुचेष्टा गरेमा उत्पन्न हुनसक्ने जटील परिस्थितिको जिम्मेवार बिर्तामोड नगरपालिका नै हुनु पर्ने समेत जानकारी गराउँदछौं ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर