

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइल खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्।

आइतवार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइल खोले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताए।

उनले भने‚ ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्। एकपछि अर्को उच्चपदस्थका नाम आइराखेका छन्। त्यसैगरी वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन।’

उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए। उनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टोनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे।
उनले भने‚ ‘वाइडबडी काण्डको फाइल खोल्नुपर्छ। एनसेलको फाइल खोल्नुपर्यो। ललितानिवास जग्गा प्रकरणको फाइल खोल्नुपर्यो। क्यान्टोनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्यो। भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्यो भने लामो समय पत्याइँदैन।’
अध्यक्ष लिङदेनले देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा रहे पनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए। उनले सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गरे। उनले सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको बताए।
उनले भने‚ ‘देश कुनै पनि वेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ। अहिले राजस्व जति उठ्छ, त्यतिले चालू खर्च पनि धान्न सकिएको अवस्था छैन। राजस्वले कर्मचारीलाई तलब खुवाउन पनि पुग्ने अवस्था छैन। ऋण काढेर अहिले कर्मचारीलाई तलब खुवाउनुपरेको अवस्था छ। ८० अर्बभन्दा बढी निर्माण व्यवसायीलाई राज्यले दिनुपर्ने भुक्तानी पुगिसकेको छ। यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदम छैन। सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा छ। आर्थिक अवस्था दिनदिनै ओरालो लागेको अवस्था छ।’
अध्यक्ष लिङदेनले देशमा नाङ्गो रूपले विदेशी हस्तक्षेप बढेको बताए।

