विराटनगर : कोसी प्रदेशसभा भवननजिक विराटनगरको दोवकोटा चोकमा दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन्।

प्रहरीका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका हुन्। प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभा नजिकै उग्र प्रदर्शन गरेपछि दोरोहो झडप भएको हो।

झडपमा परेर नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर छ। दुवैतर्फका घाइतेको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ। ‘प्रारम्भिक चरणमा भएकाले सबै घाइतको विवरण प्राप्त भइसकेको छैन,’ प्रहरी स्रोतले भन्यो। घाइतेहरूको विराटनगरकै कोसीलगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउण्ड हवाईफायर गरेको सुरक्षा स्रोतले बतायो। बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित उग्र प्रदर्शन गर्दै आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बियरका बोतल निरन्तर प्रहार गरियो। आन्दोलनकारीले गुलेलीले समेत प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रदेशसभा नजिक आन्दोलनकारीको आक्रमणमा परेर केही सुरक्षाकर्मी रगताम्य हुँदै ढलेका थिए। प्रदेशसभा नजिक माहोल भड्किने अवस्था बनेपछि हवाईफायर गर्नु परेको प्रहरी स्रोतले बतायो। त्यस क्रममा सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको थियो। पछिल्लो विवरण अनुसार नेपाली प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो।
सुरुमा प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो। त्यसपछि अश्रुग्यास प्रहार गर्यो। तर, पनि प्रदर्शन झन् चर्कियो। पहिचान पक्षधरको प्रदर्शन थप उग्र बनेपछि लाट्ठी चार्ज गरिरहेका सुरक्षाकर्मीले त्यसपछि हवाईफायर गर्नुपर्ने अवस्था आएको सुरक्षा स्रोतको भनाइ छ।
‘प्रदर्शनकारी आक्रामक र उत्तेजक बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा अझै धेरै हवाईफायर भएको हुनसक्छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘अश्रुग्यास पनि धेरै प्रहार भएको अनुमान छ।’ सुरक्षाकर्मीले संयमता अपनाइरहेका बेला प्रदेशसभा भवन कब्जा गर्ने उद्देश्यसहित आएका आन्दोलनकारीले आक्रमण गरेर अवस्थालाई तनावग्रस्त बनाएको सुरक्षा निकायको भनाइ छ।
देवकोटा चोकलगायत प्रदेशसभा भवन वरपरको अवस्था अहिले सामान्य बनिसकेको प्रहरीले जनाएको छ। प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीको भीडलाई तितरवितर पारेपछि अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको हो। अवस्था साम्य हुँदै गएपछि सर्वसाधारणले सहज रूपमा आवतजावत गर्ने वातावरण बनेको छ। दुई पक्षीय झडप रोकिएसँगै पहिचान पक्षधरले अस्पताल चोकनजिक कोणसभाको आयोजना गरेका छन्। सभालाई पहिचानवादी नेताहरूले सम्बोधन गर्ने क्रम जारी छ।
त्यसअघि झडपका क्रममा देवकोटा चोकमा रहेका पसलहरूबाट प्लाष्टिकका कुर्सी तथा बाँस, भाटालगायत लगेर आगो बालेका प्रदर्शनकारीले प्रदर्शनलाई जारी राख्दै सुरक्षाकर्मीलाई लक्षित गरेर लगातार ढुंगामुडा गरिरहे। तर, आन्दोलनको नेतृत्वकर्ताहरूले माइकिङ गरेर आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको बताइरहँदा प्रदर्शन भने नियन्त्रण बाहिर पुगेको हो।
आन्दोलनलाई भड्काउन भूमिका खेल्ने केही आन्दोलनकारीलाई प्रहरीले प्रदर्शनस्थलबाट पक्राउसमेत गरेको छ। प्रदर्शनस्थलबाट प्रहरीले २४ जनालाई पक्राउ गरेको हो। त्यसअघि ३७ जना पक्राउ परेका थिए। माहोल भड्काउन भूमिका खेल्ने २४ जना दिउँसो प्रदर्शनस्थलबाट पक्राउ परेको प्रहरी स्रोतले बतायो। प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट गुलेली, ढुंगा, लाट्ठी, बाँस, भालालगायत बरामद गरिएको छ।
सुरक्षाकर्मीलाई लक्षित गर्दै प्रदर्शनकारी आक्रमणमा उत्रिएपछि देवकोटा चोकमा सर्वसाधारणबीच भागदौड मच्चिएको थियो। घटनापछि आतंकित एवं त्रसित बनेका व्यापारीले त्यहाँका पसलहरू बन्द गरेका छन्। प्रदर्शनस्थल नजिक विभिन्न स्वास्थ्य संस्था र औषधि पसलहरू छन्।
घटनापछि औषधि पसलहरू पनि बन्द गरिएका छन्। उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइएका बिरामीहरू त्रसित बनेका छन्। बिरामी लिएर आएकाहरूबीच भौगदौड मच्चिएको थियो। बिरामीहरूले सहज उपचार पाउने वातावरण बनेन।
देवकोटा चोक कोसी प्रदेशको प्रदेशसभाबाट लगभग ५० मिटर पूर्वतर्फ मात्रै पर्छ। पहिचान पक्षधरको प्रदर्शनलाई लक्षित गरेर प्रदेशसभा आसपास र विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रदर्शनका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको हो।
कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो। पहिचान पक्षधरले प्रदर्शन जारी राखे पनि प्रदेशसभा बैठक भने सुरु भयो। अहिले निरन्तर चलिरहेको छ। बैठकलाई प्रदेशसभा सदस्य (प्रदेश सांसद)हरूले सम्बोधन गर्ने क्रम जारी छ।
बैठकमा सहभागी हुन जाने प्रदेश सांसदलाई प्रदेशसभा भवन प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए।

