

काठमाडौं । कैलालीमा आफ्नै बुहारीको हत्या आरोपमा सासुससुरा पक्राउ परेका छन् । २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको आरोपमा गौरीगंगा नगरपालिका–१, गोप्का बस्ने ५२ वर्षीय डिल्लीसिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका–१, केदारेश्वर सामुदायिक वनस्थित खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको प्रहरीले जनाएको छ ।

घरको काम नगर्ने, आफुखुसी गर्ने भनी निहुँ खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा दाउराको चिरपटले प्रहार गरेका थिए ।

त्यसपश्चात डिल्ली र उनकै श्रीमती लहरी मिलेर लासलाई डोकोमा हाली उक्त वनमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका–३ सीमावर्ती क्षेत्रबाट शनिबार प्रहरीले पक्राउ गरेको हो ।
साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका–४ बस्ने ४१ वर्षीय जयवीर बुढालाईसमेत प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

