Aamsanchar

औषधीय गुणले पनि भरिपूर्ण लसुन, केही रोचक तथ्ययस्ता छन्

Author Image
बुधवार, जेठ ३१, २०८०

काठमाडौं । नेपाली भान्सामा लसुनको प्रयोग अनिवार्यजस्तै मानिन्छ । मुख्यतः खानाको स्वाद बढाउन प्रयोग गरिने लसुन औषधीय गुणले पनि भरिपूर्ण रहेको हामीले सुनेका छौं । लसुनसँग सम्बन्धित अन्य पनि धेरै कुरा छन्, जसबारे धेरैलाई थाहा छैन । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म नेपालमा ८२ लाख ८५ हजार १३५ किलो लसुन आयात भएको तथ्यांक छ । आयात भएको लसुनको कुल लागत एक अर्ब एक करोड २२ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

लसुनको इतिहास  

करिब पाँच हजार वर्षअघिदेखि नै लसुन मानिसको खानपानसँग जोडिएको छ । प्राचीन इजिप्टमा पहिलोपटक लसुन रोपिएको मानिन्छ । इजिप्टका पिरामिडहरुमा शवलाई जोगाएर राख्न पनि लसुनको प्रयोग गरिन्थ्यो । प्राचनि ग्रिक र रोमनहरु पनि यसको व्यापक प्रयोग गर्थे ।

मानिसहरुको बसाइँसराइसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । ईसापूर्व छैटौं शताब्दीमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहासमा उल्लेख छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमशः लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो । बितेका केही वर्षदेखि यसको प्रयोगले अचम्मको व्यापकता पाइरहेको छ । यसको प्रमुख कारण यसको फाइदा नै हो ।

अहिले चीन, दक्षिण कोरिया, भारत, स्पेन र अमेरिका लसुनका प्रमुख उत्पादक मुलुक हुन् ।

लसुनको औषधीय गुण

लसुन आयुर्वेदिक उपचारमा बढी प्रयोग हुने गरेको पाइन्छ । लसुनमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिभाइरल गुणहरू हुन्छन् । जुन संक्रमणको जोखिमबाट बचाउन प्रभावकारी हुन सक्ने आयुर्वेद अनुसन्धानविज्ञ डा. विसुनदयाल प्रसाद पटेल बताउँछन् ।

बच्चामा कफ, श्वासप्रश्वासको समस्या र छाती घ्यारघ्यार भयो भने लसुनको रसले छातीमा घाँटीमा मालिस गरियो भने यस्ता समस्या कम भएर जाने उच्च रक्तचाप नियन्त्रणमा पनि लसुनको सेवन फाइदाजनक मानिने उनी बताउँछन् ।

‘घाउचोट लागेको ठाउँमा लसुनको रस लगाउँदा छिटो निको हुन्छ,’ डा. पटेल भन्छन्, ‘महिलामा महिनावारी गडबडीमा पनि यसको सेवनले महिनावारी नियमित गर्न मद्दत गर्छ  ।’ नसासम्बन्धी समस्यामा लसुन र तेलको मालिसले राहत दिन्छ । लसुनको सेवनले खानामा रुचि हुने र अपचको समस्या पनि कम गर्ने पटेल बताउँछन् । लसुनमा पोटासियम, आइरन, क्याल्सियम, फस्फोरसजस्ता धेरै आवश्यक पोषक तत्व पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुने पटेल बताउँछन् ।

‘यसमा एलिसिन र सल्फर यौगिकहरू पनि हुन्छन् ।  यसका साथै लसुनमा एनियोनी र ऐलेन कम्पाउन्ड पनि पाइन्छ, जसले लसुनलाई प्रभावकारी औषधि बनाउँछ । यी तत्व र यौगिकहरूको कारणले लसुनको स्वाद अलिकति तीतो हुन्छ, तर यी तत्वहरूले लसुनलाई संक्रमण हटाउने क्षमता पनि दिन्छ,’ पटेल भन्छन् ।

लसुनको फाइदा

लसुनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधिको रुपमा प्रयोग गरिन्छ । लसुनमा जति धेरै पोषक तत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुने पटेल बताउँछन् ।

लसुनको सेवनले उच्च रक्तचाप कम गर्छ । कोलेस्टेरोल नियन्त्रण गर्छ, जसकारण मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । ‘लसुनमा एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ,’ उनी भन्छन् ।

लसुनको सही प्रयोग 

लसुनको प्रयोग खानामा स्वाद बढाउन प्रयोग गरिन्छ । तोरीको तेलमा लसुनको केही केस्रा  हालेर तताएर जोर्नी दुखाइमा प्रयोग गर्न सकिने पटेल बताउँछन् । दैनिक दुई ग्राम लसुनको सेवन गर्नु उपयोगी हुन्छ । दुईवटा केस्रा लसुन दुई ग्रामजति हुन्छ । रुघाखोकीको कफसम्बन्धी समस्यामा लसुनलाई महसँग मिसाएर खानु राम्रो हुन्छ । दुखाइसम्बन्धी समस्या कम गर्न लसुनलाई गाईको घिउमा पकाएर खान सकिने पटेल बताउँछन् ।

लसुनको बेफाइदा

लसुन धेरै नै गुणकारी छ । लसुनको प्रयोगले धेरैलाई फाइदा हुन्छ, तर कुनै रोगका विशेष बिरामीका लागि भने हानिकारक हुन्छ ।

सबै अवस्थामा लसुन फाइदाजनक हुँदैन । कतिपय अवस्थामा लसुन सेवन गर्दा त्यसले नकारात्मक असर गर्छ । त्यसैले आफ्नो शारीरिक अवस्थाअनुसार लसुनको प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा निक्र्योल गर्नुपर्ने पटेल सुझाउँछन् ।

धेरै मात्रामा लसुनको सेवनले ग्यास्ट्रिकको समस्या हुन सक्छ । साथै एसिडिटी, छाती पोलेमा, पेटको अल्सर तथा पखालाजस्ता समस्यामा पनि लसुन सेवन नगर्नु नै उचित हुने उनी बताउँछन् । गर्भावस्थामा लसुनको प्रयोग पनि हानिकारक हुन सक्छ, किनकि लसुन गरम प्रकृतिको हुने भएकाले यसले गर्भमा रहेको शिशुलाई हानि पुर्‍याउन सक्ने पटेल बताउँछन् ।

‘रक्तअल्पता (एनिमिया)का बिरामीका लागि पनि लसुनको सेवन हानिकारक हुन सक्छ । यस्तो अवस्थामा लसुनको सेवनले हेमोग्लोबिनको मात्रालाई कम गर्न सक्छ, जसलाई चिकित्सकीय भाषामा हिमोलाइटिक एनिमिया समेत भन्ने गरिन्छ,’ उनी भन्छन् ।

लसुनको प्रयोगले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइडजस्ता रसायन निर्माण गर्न सहयोग पुर्‍याउँछ । यी रसायनहरुले मुटुको धमनीलाई आराम दिने गर्छ । ‘उच्च रक्तचाप हुनेका लागि लसुन फाइदाजनक हो, तर न्यून रक्तचाप हुनेका लागि लसुन खतरनाक पनि हुन सक्छ,’ पटेल भन्छन् ।

लसुनको बारेमा केही रोचक तथ्य

युरोपेली देशमा लसुनलाई ‘सेतो जादूको राजा’ मानिन्छ । मध्ययुरोपेली देशहरूमा लसुनलाई नजिक राख्दा ‘दुष्ट आत्मा र पिशाचहरू हाम्रो नजिक आउँदैनन्’ भन्ने विश्वास छ ।

इस्लाममा भनिएको छ मस्जिद जाँदा लसुन खानु हुँदैन, किनभने यसको तिखो गन्धले ध्यान भंग गर्छ । हिन्दूहरूको ठूलो वर्गले यस कारणले लसुन खाँदैन कि लसुनले हाम्रो प्रतिशोधात्मक गुणहरू जगाउँछ, जसले हाम्रो शुद्धतालाई नष्ट गर्छ । जैन धर्मका अनुयायी र बौद्ध धर्मका केही शाखाहरूलाई लसुन खान निषेध गरिएको छ ।

धेरै मानिस लसुन देखेर डराउँछन्, जसलाई चिकित्सा विज्ञानमा एलिम्फोबिया भनिन्छ । कपुरले लसुन जलाउँदा लामखुट्टे, झिंगा र कीराहरू भगाउँछ । लसुनको ल्वाङ्गलाई पानीमा मिसाएर अर्गानिक कीटनाशक बनाउन सकिन्छ ।

लसुनमा १७ एमिनो एसिड हुन्छ । यी एमिनो एसिडहरू शरीरको उचित कार्यका लागि धेरै महत्त्वपूर्ण छन् । चिनियाँ खानामा यति धेरै लसुन किन हुन्छ ? भन्ने धेरैले सोचका हुन सक्छन् । यसको कारण संसारको ६६ प्रतिशत लसुन चीनमा उत्पादन हुने भएर हो ।

लसुनले कोलेस्टेरोलको स्तर घटाएर मुटुको स्वास्थ्यका लागि मात्र फाइदा गर्दैन, यसले शरीरलाई चिसो र खोकीबाट पनि बचाउँछ । पेटको स्वास्थ्यका लागि पनि लसुन निकै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर