

धनगढी : नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बित भएका छन्।

आफ्नै कार्यालयमा कार्यरत महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पाल निलम्बित भएका हुन्। उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो।

यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए। सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका हाकिमसमेत रहेका पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए।

घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो।
ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन्। त्यसपछि क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो।
एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको थियो।

