Aamsanchar

हेवाखोलाको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुल्यो

Author Image
आइतवार, असार ३, २०८०

पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुलेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

यस्तै, फिदिम –४ र हिलिहाङ–७ को सिमाना माँझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।

बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार अहिलेसम्म बाढीले हेवाखोलामा रहेका चारवटा पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एउटा सडक पुल, तमोर करिडोर एउटा  पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा त्यही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । याे ठाउँबाट जलविद्युत् आयोजनाको एउटा ‘एक्स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

Views: 100

प्रतिक्रिया (०)