अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले विभिन्न प्रकारका कृषि औजारहरू वितरण गरेको छ । नगरका ४४ वटा कृषक समुहलाई शुक्रवार (आज) नगरपालिकाको कार्यालय परिसरमा कृषि औजार वितरण गरिएको हो ।
अर्जुनधारा नगरको कृषि विकास शाखाले साना कृषि औजार वितरण कार्यक्रमको आयोजना गरी कृषि औजार वितरण गरेको छ । नगरले मकै छोड्याउने मेसिन ३२ थान, कुटानीपिसानी मिल ११ थान, मिनी टिलर ९ थान, ब्रसकटर १ थान, पावर टिलर १ थान र हाते धान रोप्ने मेसिन १ थान गरी जम्मा १४ लाख ७ हजार ५०० रुपैयाँको कृषि औजार वितरण गरेको कृषि प्राविधिक मिना अधिकारीले बताइन् ।
नगरले कृषकहरूलाई प्रविधि मैत्री बनाउने उद्देश्यले ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषि औजार वितरण गरिएको हो ।
कार्यक्रममा अर्जुनधारा नगरका नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङले भने ‘नगरपालिकाले कृषिमा आमूल परिवर्तन ल्याउन खोजी रहेको छ । विकास र समृद्धि भनेको बाटोघाटो मात्र होइन । धेरै नगरवासीहरु कृषि पेशामा आवद्ध रहेकोले कृषि पेशाबाटै आयआर्जन कसरी बढाउने भन्नेमा नगरपालिकाले चिन्तन गरिएको छ । गाउँघरमा सुन्ने गरेको छु मेरो छोरा अरबमा छ कतारमा छ युरोपमा छ भनेर आमा-बुवाले गौरवका साथ भनेको सुन्छु तर मेरो छोरा कृषि पेशा छ राम्रै सँग आयआर्जन गरिरहेको छ । आफ्नै ठाउँमा कर्म गरिरहेको छ भनेको सुनेको छुइन । हरेक कृषि पेशामा लागेका छोरा छोरीलाई आमाबुवाले प्रशंसा गर्न सिक्नु पर्छ । अरु देशमा कृषि मजदुर भएकोमा गर्भ गर्ने तर आफ्नै देश ठाउँमा कृषि उद्यमी बन्दा सम्मान नपाउनु दु:खको कुरा हो । अर्जुनधाराका कृषकहरू व्यवसायिक बन्नु पर्यो नगरले के साथ दिनु पर्छ दिन तयार छ ।’
बजारमा ४२ हजार पर्ने पिसानी मिल नगरले अनुदान स्वरुप १३ हजारमा उपलब्ध गराएको छ । हरेक सामानको सहि ढंगले उपयोग गर्न कृषक समक्ष नगर प्रमुख गोम्देनले आग्रह गरेका छन् ।
कृषक सन्तमान तामाङले नगरबाट प्राप्त कृषि औजार सही सदुपयोग गरेर प्रयोग गर्ने र गर्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन प्राविधिक उर्मिला राजवंशीले गरेकी थिइन् ।
कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडा नं ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीलगायतले कृषकलाई कृषि औजार हस्तान्तरण गरेका थिए ।