काठमाडौं : साफ च्याम्पियनसिप फुबलको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनल होडबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ।
भारतको बेंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने चार बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।
समूह ‘ए’ अन्तगर्त आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले हारेको थियो। भारतसँग २–० ले पराजितको नेपाली राष्ट्रिय टोलीएक खेल अघि नै बाहिरिएको हो। नेपाल सन् २०१५ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो।
यता भारत र कुवेत दुवैसँग समान नतिजा ४–० ले हारेको पाकिस्तान पनि अन्तिम खेलमा जित निकाल्न चाहन्छ। युरोपेली लिग खेल्ने ९ भन्दाबढी खेलाडी रहेको पाकिस्तानले सोचे अनुरुप भने नतिजा हात पार्न सकेन्।
साफमा यी दुईबीच सन् २०१८ पछि पहिलो पटक भेट हुन लागेको हो। बंगलादेशको बंगबन्धु रंगशालामा भएको भेटमा पाकिस्तान २–१ गोलले विजयी भएको थियो। त्यसपछि प्रतिबन्ध झेलेको पाकिस्तानले अघिल्लो वर्ष नेपालसँग मैत्रीपूर्ण खेल खेल्दै अन्तर्राष्ट्रिय खेलमा कमब्याक गरेको थियो।
नेपालमा भएको उक्त खेलमा घरेलु टोली १–० गोलले विजयी भएको थियो। समूह ‘ए’ बाट भारत र कुवेतले अन्तिम चारमा स्थान बनाइसकेका छन्।
आज राति पौने ८ बजे सोही स्थानमा हुने खेलबाट समूह विजेता र उपविजेता टुंगो लाग्नेछ।