अर्जुनधारा । झापाको अर्जुनधारा –८, शनिश्चरे स्थित नयाँ बजारमा प्रथम अर्जुनधारा मिनी महोत्सव आयोजना हुने भएको छ ।
नयाँ बजारलाई चलायमान बनाउन र प्राकृतिक विपदमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले असार १३ गते बुधबार देखि २७ दिन सम्म महोत्सव आयोजना हुने आज महोत्सव स्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।
ब्रदर एण्ड सिस्टर जिम हाउसको आयोजना र सयपत्री इन्टरटेनमेन्ट प्रा. लि. को व्यवस्थापनमा मिनी महोत्सव सम्प्नन हुने आयोजक संस्थाका अध्यक्ष तुल श्रेष्ठले बताए ।
विभिन्न खेल तमासा र साँगीतिक मनोरञ्जन लिन सकिने महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने बताईएको छ ।
महोत्सव अवधीमा कलाकारहरू प्रमोद खरेल, मेलिना राई, रचना रिमाल, एलिना चौहान, ज्योति मगरलगायतका कलाकारहरूको प्रस्तुती रहने आयोजक संस्थाका कोषाध्यक्ष श्याम दनुवारले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न २० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान रहेको छ । अवलोकन कर्ताको लागि प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ ।
भोलि महोत्सव उद्घाटनको तयारी गरिएको छ । महोत्सवको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले गर्ने तय भएको आयोजकले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा सल्लाहकार गौरी लिम्बू, भरत मोक्तान, सदस्यहरू मनोजकुमार गोम्देन, हेमलाल परियार, हिमाल पुरी, महोत्सव व्यवस्थापक पर्वत लामाको उपस्थिति रहेको थियो ।