काठमाडौं : चीनको हाङझावमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको अन्तिम छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।
पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल पुलिस क्लबका विशालसिंह विष्ट छनोट भए। महिला ५५ केजीमा पुलिसकी टिकामाया गुरुङ र ६४ केजीमा त्रिभुवन आर्मी क्लबकी शारदा चौधरीले एसियाली खेलकुदको टिकट पक्का गरे।
१९औं एसियाली खेलकुद आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुँदैछ। प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाउँदै छन्। सुरुमा २३ खेलमा मात्र सहभागिता हुने जनाए पनि राष्ट्रिय खेलकुद परिषद्ले अन्तिममा ६ खेल थप गरेको हो। परिषद्ले रग्बी, स्क्वास, टेनिस, ई–स्पोर्ट्स, डान्स स्पोर्ट्स र क्यानोइङ खेल थप गरेको हो।
एसियाली खेलकुदमा विभिन्न ४० खेलमा चार सय ८२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। एसियाली खेलकुदमा नेपालले अहिलेसम्म दुई रजत र २२ कांस्य पदक जितेको छ।