पाँचथर – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन ।धनकुटा र पाँचथर जोड्ने नावा खोलासँगै धनकुटाको चौबीसे गाउँपालिकामा पर्ने छरुवा र साँगुरीगढी गाउँपालिकामा पर्ने रगुवा खोलामा पानीको बहाव वढेकाले तमोर करिडोर अवरुद्ध भएको हो ।

निर्माणाधीन तमोर करिडोरका तीनवटै खोलामा पुल निर्माण भएका छैनन् । नावा खोलामा पानीको सतह बढेकाले मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए ।

यसैगरी हेवा खोलामा पानीको सतह बढेका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवा खोलामा अघिल्लो दिन डाइभर्सन गरेर सवारी र ढुवानीका साधन आवागमनका लागि बाटो खुलाइएको थियो ।

सोमबार साँझदेखि मंगलबार बिहानसम्म आरिघोप्टे वर्षा भएका कारण पुनः पानीको सतह बढेपछि यातायात राजमार्ग अवरुद्ध भएको हो ।असार २ गते राति आएको बाढीका कारण हेवा खोला पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायः अवरुद्ध छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइए पनि खोला बढेर अवरुद्ध हुँदै आएको छ ।


