काठमाडौं : गुलशन झाको अर्धशतकको सहायतामा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ।
जिम्बावेको ताकाशिंगा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो।
नेपालका लागि गुलशनले ४२ बलको सामना गरी ४ चौका र ३ छक्का हिर्काउँदै अविजित ५७ रन बनाए। एकदिवसीय अन्तरराष्ट्रिय खेलमा उनको यो दोस्रो अर्धशतक हो।
ओपनिङमा आएका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहितकुमार पौडेलले २९ र भीम सार्कीले २० रन बनाए।
आठौं विकेट लागि गुलशन र सन्दीपले ८० रनको साझेदारी गरे भने त्यसअघि पाँचौं विकेटका लागि कुशल मल्ल र भीमले ५९ रनको तथा तेस्रो विकेटका लागि अर्जुन र रोहितले ५० रनको साझेदारी गरे।
आयरल्यान्डका लागि ब्यारी म्याकर्थी, मार्क अडेयर, क्रेग योङ्गले २/२ तथा कर्टिस क्याम्फर, ग्यारेथ डेनाली र एन्डी म्याकबर्नीले १/१ विकेट लिए।