Aamsanchar

काठमाडौं महानगरपालिकाले गर्याे हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

Author Image
मङ्गलवार, असार १९, २०८०

काठमाडौं : काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो। महानगरपालिकाले न्युरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौंका हनुमानढोका इन्चार्ज ध्रुव भुजेलले बताए।

उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा क्षेत्रका अधिकारीहरुसँग बैठक बसी थप निर्णय गरिने बताए। उनले सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने बताए।

अर्का महानगर प्रहरी ध्रुवसिंह थापाले एम्बुलेन्स र दमकलबाहेकका सवारीसाधन सम्पदा क्षेत्रमा प्रवेश नदिएको बताए।

उनले भने, ‘शालिक गेटदेखि यता सम्पदा क्षेत्रभित्र प्रवेश निषेध सम्पूर्ण गाडीहरु, एम्बुलेन्स, दमकल र पानीको गाडीबाहेक अरु सबै गाडीलाई हिजोदेखि नै बन्द गरिसकिएको छ। बुधबार यहाँ मेयरसाबको अध्यक्षतामा बैठक बसेर थप निर्णय गर्छ। पार्किङको लागि न्युरोड, विशाल बजारबाहिर नै पार्किङ गर्ने र हिँडेर आउने सिस्टम शुरु भएको छ।’

वसन्तपुरको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको महानगरको बुझाइ छ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर