

पाल्पा – पाल्पाको रिब्दिकोट गाउँपालिका–१ मा गोरुपाल्ने किसानलाई प्रोत्साहन भत्ता दिइने भएकाे छ । आउँदाे आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने तयारी गरिएकाे हाे।

गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार रुपैयाँ भत्ता दिने कार्यक्रम ल्याइएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । उहाँका अनुसार नयाँ किन्नेलाई पाँच हजार रुपैयाँ, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याइएको हो ।

‘घरमा गोरु पालियो भने खेतबारी बाँझिदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने बानी बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ’, वडाध्यक्ष पोखरेलले भन्नुभयो ।

कृषिलाई बढवा दिन यो नीति लिइएको वडाध्यक्ष पोखरेल बताउनुहुन्छ । ‘गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ । घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ । गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो ।’ उहाँले भन्नुभयाे ।
अहिले गाउँघरमा एकहल गोरुले खेतबारी जोतेमा दैनिक दुई हजार पाँच सय रुपैयाँसम्म ज्याला लिने गरिएकाे छ । घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझिने भएनन् अर्कोतर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिने उहाँकाे बुझाइ छ ।

