

जनकपुरधाम : लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरको पताल गंगामा दूध चढाइएको छ।

शनिबार दूध अर्पण कार्यक्रम आयोजना गरी साधुसन्त र पुजारीले धनुष मन्दिरमा दूध अर्पण गरेका हुन्। स्थानीय बासिन्दाले दूध संकलन गरी पताल गंगामा चढाइएको महन्त भारत दासले बताए।

महन्त दासले भने, ‘वर्षा नभएकाले खडेरी पर्ने चिन्ताले सर्वसाधारणलाई सताएको हो।’

किसानले धान रोप्न पाएका छैनन्। मधेशका धेरैजसो क्षेत्रमा खानेपानीको हाहाकार भएको छ। हातेकल (चापाकल), पोखरी र इनार समेत सुक्न थालेका छन्। त्रेतायुगमा भगवान् रामले शिव धनुष तोडेका थिए। तोडिएको धनुषका तीन टुक्रामध्ये एउटा टुक्रा धनुषधाममा खसेको धार्मिक विश्वास छ।
५५ वर्षीय भोगेन्द्र यादवले अहिले पनि धनुषधाममा धनुषको टुक्रा देख्न सकिने बताए। भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नाम धनुषधाम भएको हो।
त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ। उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खडेरी नपर्ने मान्यता रहेको महन्त भारत दास बताउँछन्।
सोही मान्यताका आधारमा धनुष मन्दिरमा पाँच सय लिटर दूध चढाइएको स्थानीय विनय यादवले बताए।

