Aamsanchar

सर्लाहीमा बाढी : दुई जनाको ज्यान गयाे, ७२ को उद्धार

Author Image
बुधवार, साउन २४, २०८०

काठमाण्डौ – सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सोमवार रातिदेखि नै बेपत्ता चौधरीको शव मंगलवार बाँके खोलामा फेला परेको थियाे ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बाग्मती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको ज्यान गएको हो । स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेका थिए । बाग्मतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।

यसैबीच बाढीका कारण बाग्मती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलवार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बाग्मती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । लगत्तै उनीहरुको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर