Aamsanchar

मुस्ताङको ठाडो खोलामा बाढी : १० घर र पक्की पुल बगायो

Author Image
सोमवार, साउन २९, २०८०

म्याग्दी : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा आइतबार राति ठाडो खोलामा आएको बाढीले १० घरसहित एक निर्माणाधीन पक्की पुल बगाएको छ।

वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागखोलामा आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित करोडौँको भौतिक सामग्री बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

त्यसैगरी कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशालामा पनि क्षति पुर्‍याएको छ।  एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकाले विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ। आइतबार राति ११ बजेदेखि कागखोला र कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकोले सोमबार बिहानसम्म मानवीय क्षति नभएको मुस्ताङ प्रशासनले जनाएको छ।

झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ। प्रहरीका अनुसार तीन दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ।

‘बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खबर छैन। प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ। बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ। थप विवरण आउन सकेको छैन’, मुस्ताङका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने।

अविरल वर्षासंगै ठाडो खोला थुनिएर आएको बाढीले अहिले कागबेनी गाउँको तल्लो बस्ती पुरै डुबानमा परेको हो। बाढीले कागबेनीको धर्मशाला, श्राद्धस्थल र अस्थायी काठेपुल बगाएको छ।

कागबेनीमा खोला थनिएर बस्ती डुबानमा परेपछि कालीगण्डकी नदीका तटीय क्षेत्रका वासिन्दाहरु त्रसित भएका थिए। मुस्ताङको जोमसोमदेखि म्याग्दीको बेनीसम्मका वासिन्दाहरु रातभरी त्रसित रहे। सोमबार (अहिले) बिहानसम्म यी क्षेत्र सामान्य अवस्थामा छन्। क्षतिको  विस्तृत क्षति विवरण आउन बाँकी रहेको मुस्ताङ प्रशासनले बताएको छ।

मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्रमा आइतबार रातिसम्मको  २४ घण्टामा २५.८ मिलिमिटर वर्षा मापन गरिएको छ।

यता अविरल वर्षासँगैको बाढी र पहिरोका कारण म्याग्दीका मुख्य सडक तथा ग्रामीण सडक अवरुद्ध भएका छन्। म्याग्दीमा शुक्रवार  साँझदेखिको निरन्तर वर्षाका कारण जिल्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका हुन्।

बेनी–जोमसोम,बेनी–दरबाङ लगायत म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका हुन्। आइतबार साँझसम्म पनि वर्षा भइरहेको र पहिरो खसिरहेकाले सडकहरु खुलाउन नसकिएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाले गर्दा जिल्लाको पश्चिम भेक जोड्ने बेनी–दरवाङ सडक खण्डको फापरखेत स्थित घुमाउने भीरमा सडक अवरुद्ध भएको छ। त्यस्तै, बेनी–जोमसोम–कोरला सडक खण्डको बैसरीमा सडक अवरुद्ध भएको छ।

बेनी–दरबाङ सडकको फापरखेतको भिरमा पहिरो खस्दा शनिवार साँझदेखि अवरुद्ध सडक आइतबार साँझसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सडक ठप्प भएपछि पश्चिम म्याग्दीका बासिन्दा समस्यामा परेका छन्। धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङका पश्चिमी क्षेत्रलाई सदरमुकाम बेनीबजारसँग जोड्ने  यो मुख्य सडक हो।

लगातारको वर्षाले गर्दा बेनी नगरपालिका–९ अल्बाङमा ४० रोपनीमा लगाइएको धान तथा मकैमा बाढीले क्षति पुर्‍ याएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो।  बेनी–ज्यामरुककोट,बेनी–छाप, दरबाङ–रुम, दरबाङ–देविस्थान जोड्ने सडक पनि अवरुद्ध भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर