Aamsanchar

अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मीको अन्तर्राष्ट्रिय रथयात्रा नेपाल आउने

Author Image
बुधवार, भदौ १३, २०८०

मेचीनगर । अग्रोहा धामको बारेमा जनचेतना जगाउनेसँगै कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातनी हिन्दु धर्मावलम्बीहरू बिच एकता र धार्मिक सदभावको सन्देश प्रवाह गर्ने उद्देश्यले सुरु भएको अन्तर्राष्ट्रिय रथयात्रा नेपाल आइपुग्ने भएको छ ।

भारत स्थित हरियाणाको अग्रोहा धामबाट चार महिना अघि प्रारम्भ भएको रथ यात्रा भारतको पानीटङ्की हुँदै भदौ १५ गते रथ नेपाल स्थित काँकडभिट्टा प्रवेश गर्ने आज काँकडभिट्टामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।

शुक्रबार बिहान ८ बजेर ३० मिनेटमा नेपाल तर्फबाट मेचीपुलबाट रथयात्राको टोलीलाई स्वागत गरेर काँकडभिट्टा स्थित पञ्चमुखी हनुमान मन्दिर सम्म पैदल यात्रा गरेर रथ नेपाल ल्याइने रथयात्रा सहजीकरण समिति मेचीनगर संयोजक विजय डालमियाले बताए ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता रहने स्वागत समितिले जनाएको छ ।

भारत, भुटानको विभिन्न सहर परिक्रमा गरेर नेपाल आइपुग्ने रथलाई नेपालको कोशी प्रदेशका विभिन्न शहरहरूमा परिक्रमा गराइने कार्यक्रम क्षेत्रगत स्वागत समितिले तयार पारेको छ ।
पञ्चमुखी हनुमान मन्दिर प्राङ्गणमा अग्रवाल र अन्य सम्पूर्ण समुदायको उपस्थितमा हुने धार्मिक कार्यक्रममा बिहान ९ बजे उद्घाटन, पुजा एवम् माहाआरती पछि प्रसाद वितरण र जलपानको कार्यक्रम सम्पन्न भएपछि रथ यात्रा धुलाबारी तर्फ अघि बढ्ने मेची संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिए ।

सोही दिन बिहान ११ बजे धुलाबारीको राधास्वामी भवनबाट मुख्य बजार हुँदै सत्यनारायण मन्दिर सम्म रथयात्रा आयोजना हुने छ । सो अवसरमा पूजापाठ र सामूहिक भण्डारा कार्यक्रम रहेको छ । त्यसैगरी धुलाबारीको कार्यक्रम पश्चात अपरान्ह ४ः ३० बजे बिर्तामोडको साल्ट ट्रेनिङबाट अग्रसेन भवन सम्म र्याली हुने र बालाजी मन्दिरमा विविध कार्यक्रम आयोजना गरेर अग्रसेन भवनमै रात्री विश्राम गर्ने  कार्यतालिका रहेको धुलाबारीका संयोजक पुनितकुुमार वंशलले बताए ।

भदौ १६ गते सुरुंगा, दमक, उर्लाबारी हुँदै इटहरीमा कार्यक्रम गरेर धरानमा पुगेर विश्राम हुने र भोलिपल्ट १७ गते धरान, दुहबी र विराटनगरमा रथयात्रा पुग्ने तालिका रहेको छ । भदौ १८ गते विराटनगर अतिथि सदन देखि श्रीकृष्ण गौशालासम्म पैदल यात्रा गरेर रथलाई जोगबनी हुँदै भारत तर्फ बिदाई गर्ने कार्यक्रम रहेको नेपाल संयोजक बिनोद अग्रवालले जानकारी दिएका छन् ।

विश्वमा अग्रवालहरुको संख्या १० करोड र नेपालमा १ लाख २५ हजार रहेको बताइएको छ । नेपालमा अग्रवाल समुदायको बसोवासको इतिहास ३ सय वर्ष भन्दा माथि रहेको र भारत हरियाणामा अग्रसेन महाराजको राज्य इतिहास ५ हजार २ सय वर्ष रहेको  अग्रवाल समुदायका अग्रजहरूले बताएका छन । अग्रसेन समुदायमा १८ वटा ऋषिको नाममा गोत्रहरू रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर