Aamsanchar

बेमौसमी मूलाखेतीबाट आम्दानी लिँदै पाँचथरका कृषक

Author Image
बुधवार, भदौ २७, २०८०

पाँचथर – पाँचथरका कृषकहरु बेमौसमी मूलाखेतीमा आकर्षित भएका छन् ।

फिदिमको पौवाभन्ज्याङ कान्छीदोकान, डोजरडाँडा, स्कूलडाँडा लगायतका स्थानका कृषकले बेमौसमी सिजनको मूलाबाट राम्रो आम्दानी लिएपछि कृषकहरु उत्साहित भएका हुन् ।

यस क्षेत्रका एकसय बढी कृषकहरु अहिले पनि मूला खेतीमा सक्रिय रुपमा लागि परेका छन् । गत वर्ष प्रति किलो १२ रुपैयाँका दरले मूला विक्री गरेका कृषकहरुले अहिले दोब्बर बढी अर्थात प्रति किला २५ रुपैयाँ सम्मले विक्री गरिरहेका छन् । जेठ अन्तिम तथा असारमा रोपेको मूलाले यो समयमा राम्रो आम्दानी दिएको हो । यो खेतीबाट प्रतिघर कृषक परिवारले वार्षिक ५० हजार देखि ३ लाख रुपैया सम्म आम्दानी गर्ने गरेका छन् ।

विशेष गरी मेची राजमार्गको सडक आसपासमा मूला खेती गर्ने कृषकहरुले लगाएको मूला किन्न ब्यापारी घर घरघरमै पुग्ने गरेकाछन् । कृषकहरुले लगाएको मुला बजारसम्म पुर्याउने झन्झट नभएपपछि यहाँका स्थानीय कृषकहरु पनि दंग देखिन्छन् ।
मूला खेतीबाट आम्दानी गरेको रकमले यस क्षेत्रका स्थानियहरुले घरखर्च जुटाएर छोराछोरीलाई राम्रोसँग पढाएका छन् भने रकम बचत समेत गरेका छन् । पाँचथरको लेकाली र माथिल्लो क्षेत्रमा वढी मूला हुने गरेको छ । पाँचथरको फिदिम नगरपालिका,मिक्लाजुङ,फाल्गुनन्द,फालेलुङ,याङवरक गाउँपालिकाको माथिल्लो क्षेत्रमा वढी मूला उत्पादन हुने गरेको हो ।
कार्यालयले आह्वान गरेको विभिन्न कार्यक्रमहरुमा ती ब्यवसायिक कृषकहरुलाई प्राथामिक्ता दिएर छनौट गर्ने गरेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले बताउनुभयो ।

यस क्षेत्रमा उत्पादन भएको मूला,सलाद खान,अचार बनाउनको निम्ति तराईका विभिन्न जिल्लाहरुमा निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष ०७८/०७९ मा २ सय २७ हेक्टर क्षेत्रफलमा २ हजार ७ सय ४२ मेट्रिकटन मूला उत्पादन भएको थियो । यस्तै गत आर्थिक वर्ष ०७९/८० मा २ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको मूला बाट ३ हजार २ सय ५० मेट्रिकटन मूला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

तरकारीबाली अन्तर्गत मूला खेती जस्तै बमौसमी तरकारी बाली खेती गरेर कृषकहरुले मनग्य आम्दानी गर्ने गरेका छन् त्यसका लागि सरोरकावाला निकायहरु स्थानिय तह,कृषि ज्ञान केन्द्र,प्रदेश तथा संघिय सरकारले समेत कृषकहरुलाई आवश्यक औषधी,उपकरण,मल,विऊको ब्यवस्था गरिदिए कृषकहरुलाई थप सहज हुने थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर