Aamsanchar

तीजको नाम कसरी रहन गयो ?

Author Image
आइतवार, भदौ ३१, २०८०

तीजको नाम कसरी रहन गयो  ?
‘तीज’ शब्द नामकरण कसरी भयो भन्ने कुरामा हामीले थोरै अध्ययन गर्‍यौँ । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दै छौँ । तीज वर्षा याममा निस्कने एक प्रकारको किरा भएको र वर्षा यामको उत्तरार्द्धमा भएको यो चाडको नामकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित भएको पनि पायौँ । अर्कोतर्फ तिहार, त्यो हार भन्नाले उत्कर्षको चाडका रूपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्यो हारबाट तीजको स्वरूपमा आएको कुराहरू पनि पायौँ ।

वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिक कालमा बर बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ । माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।

हरितालिका तीज व्रत
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।

हरितालिका तीजको पौराणिक सम्बन्ध
हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।

विवाहित र अविवाहित महिलाहरूको वरदान
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)