काठमाडौं – साफ यू–१९ च्याम्पियनसिपमा साविक विजेता भारत र घरेलु टिम नेपालबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको निर्धारित समय १–१ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको हो ।
निर्धारित समयको खेलमा साहील खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खुर्सिदले २६औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए ।
तर, ७४औँ मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । दीपक थापामगरले निकालेको क्रसमा बक्सभित्र रहेका समिरले हेडर गोल गर्दै नेपाललाई बराबरीमा फर्काएका थिए । यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको हो ।
त्यसअघि ४७औँ मिनेटमा निराजन धामीको प्रहार पोस्टमा लागेर फर्किदा नेपालले बराबरीको मौका गुमाएको थियो ।
प्रतियोगितामा नेपाल समूह ए को उपविजेता र भारत समूह ुबीु को विजेताको रूपमा सेमिफाइनल आएका हुन् । समूह चरणमा नेपालले पाकिस्तानसँग १–० को हार बेहोर्दा माल्दिभ्सलाई भने ४–१ ले हराएको थियो । भारतले भने समूहको पहिलो खेलमा बंगलादेशलाई ३–० ले र दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो ।
आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।