Aamsanchar

‘कनकाई कोटीहोममा ४७ वर्ष बितिसक्दा कुनै पनि विशेष अनुष्ठान किन भएन ?’

Author Image
शुक्रवार, असोज १२, २०८०

कनकाई । वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान् योगी नरहरिनाथको अगुवाइमा विक्रम सम्वत् २०३३ सालमा स्थापना भएको झापा कनकाई –४ स्थित कनकाई धार्मिक विकास संस्था कोटीहवनमा ४७ वर्षको अवधीमा कुनैपनि विशेष धार्मिक अनुष्ठान तथा कार्यक्रम आयोजना भएको छैन । २०७३ सालमा भने एउटा लक्ष्यकुम्भ महापुराण आयोजना भएको थियो ।

कनकाई माई नदीको पूूर्वीतटमा रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित धार्मिक स्थल कोटीहवनमा विशेष धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना नगरिएको कारणले कोटीहवन ओझेलमा परेको सरोकारवालाहरूको भनाई छ ।

‘कनकाई कोटीहोममा ४७ वर्ष बितिसक्दा कुनै पनि विशेष अनुष्ठान किन भएन भन्ने विषय प्रष्ट छ त,’ ‘राजनीति दलको झोला भिरेकाहरु संस्थाको कार्यसमिति नेतृत्वमा रहँदै आएकाले धार्मिक गतिविधिहरू ओझेलमा परेको हो,’ दलको कार्यकर्तालाई कोटीहोम संस्थाको सञ्चालन जिम्मेवारी आजीवन सदस्यहरूले दिएकै कारण यस्तो अवस्था आइपरेकोले अब मतदाताहरूले सोचमा परिवर्तन ल्याउनु पर्ने अवस्था आएको छ ।’ ‘यस अघि विविध कार्यक्रममा प्रमुख अतिथि कसलाई बनाउने विषयमै कुरा नमिल्दा चार वटा भौतिक निर्माण भएको योजना उद्घाटन हुनसकेको छैन, जिल्ला र राष्ट्रिय स्तरको कार्यक्रमहरू आयोजना  हुनुको कुरा कता हो कता ।’  धार्मिक विशिष्ट व्यक्तिहरूलाई प्रमुख अतिथि बनाउनु पर्ने केही  समिति पदाधिकारीहरू भित्रबाट प्रस्थाव पनि हुन्छ तर बहुमत दलका कार्यकर्ताको रहेकोले धार्मिक व्यक्तिहरूको कोटीहवनमा आगमन हुने सन्दर्भ नै नजुरेको  वर्तमान महासचिव डिल्लीराम बाह्रकोटीले आमसंचारलाई बताए ।  उनले थप्दै भने ‘अब जे भयो भयो पस्चाताव गर्नुभन्दा नवीनतम विकल्प नेतृत्व लाई कामगर्ने अवसर दिनुपर्ने हुन्छ ।’

यतिका वर्ष सम्म यसले पो राम्रो काम गर्ला की, उस्ले पो गर्ला की ! यो पार्टीले पो गर्ला की ! फलानो पार्टीको मान्छेले पो योजना बनाएर राम्रो काम गर्लाकी ! भनेर भरपर्दै आइयो तर कुनै पनि नेतृत्वले धार्मिक हिसाबले महत्वपूर्ण काम गरेर देखाउन सकेनन् । संस्था क्षेत्र परिसरलाई कंक्रिट मय चै बनाइयो । ‘त्यसमा पनि स्वार्थ लुकेको हुनसक्ने शङ्काहरू बाहिर आएकै हो आर्थिक अपारदर्शिताको प्रश्न खडा नै छ समाजमा।’ अहिले पनि दलहरूकै दवाव र रवाफमा उम्मेदवारहरू उठाइएको छ । धार्मिक संस्थाको लागि दलको निर्देशन पालना गर्ने व्यक्तिबाट धार्मिक संस्थाको विकास हुन असम्भव प्रमाणित भएको स्थानीय सामाजिक अगुवा भीम अधिकारीको भनाई छ ।

आगामी असोज १५ गते हुन गइरहेको कनकाई धाम धार्मिक विकास संस्थाको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले हिजो पत्रकार भेटघाट गरेर प्यानललाई औपचारिकरूपमा सार्वजनिक गरेको हो ।  अर्को साझा उम्मेदवार प्यानल पनि चुनावी अभियानमा रहेको छ ।

शेरबहादुर थापाको नेतृत्वमा स्वतन्त्र नागरिक कार्य सम्पादन प्यानलै खडा गरेको उक्त समुहले हिजो सुरुङ्गामा पत्रकार भेटघाट आयोजना गरेर निर्वाचनको घोषणापत्र समेत सार्वजनिक गरेको छ ।
तिन वर्षे कार्यकाल भित्रमा योगी नरहरिनाथको स्मृतिमा बृहत्तर महायज्ञ सञ्चालन गरिने, ॐकार परिवारको धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने गरी योगी नरहरिनाथ स्मृति संग्राहालय स्थापना गर्ने , हाल सञ्चालनमा रहेको संस्कृत पाठशालाको स्तरोन्नति गरी ५० भन्दा बढी विद्यार्थीहरूलाई वैदिक शिक्षा प्रदान गरिने, अघिल्लो निर्वाचनमा व्यक्त गरिएको लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउन चौमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने, प्रतिवद्धता गरिएता पनि सो कार्य भएको थिएन आगामी निर्वाचन पश्चात स्वतन्त्र समूहको विजय भए डिजिटल प्रणालीको विकास गरी प्रत्येक महिनाको १५ गते भित्रमा अघिल्लो महिनाको हिसाब सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने व्यवस्था मिलाउने, वार्षिक रूपमा योगी नरहरिनाथको स्मृतिमा सन्तमहन्त, धार्मिक तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थित गराई धार्मिक महोत्सव गरिने ।

त्यसैगरी आधुनिक पद्धति अपनाई व्यवस्थित रुपमा गौ पालनको सुरुवात गरिने । निर्माणकार्य अधुरो रहेको मेची महाकाली भवन लगायत अन्य अधुरा रहेका निर्माण कार्यलाई पूरा गरिने, देश विदेशबाट आउने धार्मिक पर्यटकहरूलाई यथोचित बासस्थानको लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गर्न पहल गरीने, साधुसन्त निवासको निर्माण  सम्पन्न गरी भन्डाराको व्यवस्था गरीने, पूर्वको शान ॐकार परिवारको पहिचान कोटीहवन धाम“ भन्ने नाराका साथ अक्षयकोष स्थापनाको पहल गरिने धामको सौन्दर्य विकासका लागि फूल वगैचा निर्माणमा  सकृय रहने, जनचेतना मूलक कार्यक्रम सञ्चालन गरी कोटीहवन परिसर भित्र मद्यपान, धूम्रपान सेवन कार्यलाई निरुत्साहित गरिने कनकाई धाम धार्मिक विकास संस्था कोटीहवन पूर्वकै एक अति महत्वपूर्ण धार्मिक स्थल भएकाले यसको स्तरोन्नतिका लागि योजनावद्ध कार्य गर्ने, स्थानीय, प्रदेश र संघीय सरकार तथा अन्य संघ संस्था र दाताहरू सँग बजेट का लागि पहल गरिने, स्थानीय संघ संस्था तथा व्यक्तिहरूको सहभागिता गराई कोटीहवन परिसरलाई स्वच्छता प्रदान गर्न सरसफाइमा विशेष ध्यान दिइने, कोटीहवन परिसर भित्र रहेका विभिन्न थर गोत्रीय वंश संस्थाहरू र वाणिज्य क्षेत्रमा रहेका महानुभावहरु संग समन्वय गर्दै नीतिगत निर्णय गरि समन्वयात्मक रुपमा एकीकृत कार्यक्रमहरू सञ्चालन गरिनेलगायतका योजना तथा कार्यक्रमहरू गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै निर्वाचनको लागि नरेन्द्रप्रसाद फुँयालको नेतृत्वमा साझा प्यानल निर्वाचनमा होमिएको छ । उक्त प्यानलले आफ्नो घोषणा पत्रलाई औपचारिक रुपमा सार्वजनिक गरेको भने छैन । श्रोतका अनुसार भोलि सम्ममा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर