मानेभञ्याङ –जर्जियन एफसी कालिम्पोङ ७ औँ मानेभञ्ज्याङ गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ।
१२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकातालाई ७–५ गोल अन्तरले हराउँदै कालिम्पोङले अन्तिम ८ मा स्थान बनाएको हो।
खेलमा सुरुवाती अग्रता कालिम्पोङले बनाएको थियो। ७ औँ मिनेटमा कुन्जमान थापाले पहिलो गोल गरेका थिए। ४ मिनेट नबित्दै उनले व्यक्तिगत दोश्रो गोल गरे। २३ औँ मिनेटमा वशन्त राईले गोल गरेपछि कालिम्पोङले अग्रता ३–० बनाएको थियो।
३२ औँ मिनेटमा कोलकाताका मिथुन शाहले गोल गर्दै अन्तर ३–१ मा झारे। ४५ औँ मिनेटमा कालिम्पोङका सिलास लेप्चाले गोल गरे। २ मिनेट नबित्दै मिथुनले व्यक्तिगत दोश्रो गोल गरेपछि अन्तर ४–२ झरेको थियो।
४९ औँ मिनेटमा कुन्जमानले ह्याट्रिक पूरा गरे। यसको २ मिनेटलगत्तै कुन्जमानले व्यक्तिगत चौथो गोल गरेपछि कालिम्पोङले गोल अन्तर ६–२ बनाउन सफल रह्यो।
कप्तान प्रनभ मुखियाले ५४ औँ मिनेटमा कालिम्पोङका लागि सातौँ गोल गरे। त्यसपछि कोलकाताले खेलमा फर्कने प्रयास गरेको थियो।
६० औँ मिनेटमा मिथुनले ह्याट्रिक पूरा गरे। ७० औँ मिनेटमा मिथुनले व्यक्तिगत चौथो गोल गरे। इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी बपन बेराले गोल गरे पनि कोलकातालाई जितका लागि पर्याप्त हुन सकेन।
खेलको म्यान अफ दि म्याच विजेता टोलीका कुन्जमान घोषित भए।
प्रतियोगितामा शुक्रबार पहिलो खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुर र मोहम्मडन एथ्लेटिक क्लब कोलकाताबीच हुनेछ।
दोश्रो खेलमा हिमालयन शेर्पाले कञ्चनजंघा एफसी सिलिगुडीसँग खेल्नेछ।