Aamsanchar

‘सरकारले अध्ययन नै नगरी दूधको मूल्य बढाउदा कोशी प्रदेशमा ५ लाख केजी नौनी ( घिउ ) सड्ने अवस्थामा’

Author Image
सोमवार, असोज २९, २०८०

झापा । कृषक र डेरी व्यवसायीहरूको वास्तविक कठिनाइलाई बुझने प्रयास नै नगरी  काठमाडौंमा बसेर दूधको मूल्य निर्धारण गर्दा देशको सम्पूर्ण दुग्ध क्षेत्रको व्यवसाय तहसनहस भएको डेरी उद्योगीहरूले आरोप लगाएका छन् ।

गत फागुनमा नेपाल सरकारले गरेको कच्चा दूधको मूल्य वृद्धि ले कृषकलाई राहत दिए जस्तो देखिएको छ । तर नीतिगत घुमाउरो ढंगले बढेको पैसा कृषकको हातबाट फुत्काउन बाध्य बनाइएको छ । दूधको मूल्य १० रुपैयाँ के बढेको छ । चोकरको मूल्य डेढा बनाएर कृषकको पैसा तान्ने काम भएको छ । यस्तो हुँदा मूल्य वढ्नु र नबढ्नु उस्तै  भो, कृषकका लागि । कृषको हातमा परेको बढेको रकम उद्योगीको पोल्टामा पुगेको छ । उता मूल्य वृद्धिको कारण भारतबाट सस्तोमा आयात हुने गरेको दुग्ध जन्य पदार्थको कारण नेपाली दुग्ध उद्योगको उत्पादन बिक्री नभएर व्यवसाय सङ्कटमा परेको छ । विदेश निर्यातको त कल्पना पनि गर्न नसकिने नेपाल डेरी एसोसिएसनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजन चिमरियाले  बताए ।

चिमरियाले कोशी प्रदेशमा ५ लाख केजी नौनी (घिउँ) स्टक रहेको बताए । नौनीको पनि उपभोग्य मिति गुज्रने समय आउन लागेको  र केही डेरी सञ्चालकले नष्ट गर्न थालेको उनले जानकारी दिए । नेपाली बजारमा दूधको अस्वभाविक मूल्यवृद्धि गरिएपछि भारतीय बजारबाट खुला दूध र दूधजन्य पदार्थ नेपाल आउन थालेकाले नेपालमा ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । ‘भारतीय कृषकलाई त्यहाँको सरकारले अनुदान बढी दिन्छ, त्यसकारण उनीहरु सस्तो मूल्य राखेर दुध बिक्री गर्न सक्छन्, चिमरियाले भने– नेपालमा बिद्युतमा छुट छैन, अनुदान छैन, बढाएको मूल्य चोकर उद्योग, दाना उद्योग र पशु औषधी उद्योगले लगेका छन्, सरकारले त्यसको  नियमन गर्न सकेको छैन ।’

यसअघि नेपालमा उत्पादित छुर्पी युरोप र अमेरिका, दूध भारत र चीनको तिब्बत तथा घिउ जापान निर्यात हुँदै आएको थियो ।

यतिबेला दूध भारत निर्यात हुँदै गरेको भएपनि पहिलाको तुलनामा थोरै परिणाममा भारतीय बजारबाट माग हुन थालेको हुनाले नेपालमा मिल्क होलिडे गर्नुपर्ने अवस्था आएको व्यवसायीको भनाई छ । अहिले भारतमा दूधको मूल्य ५६ रुपैयाँ प्रतिलिटर छ भने नेपालमा ६६ रुपैयाँ रहेको उनले बताए ।

दूधजन्य पदार्थको निकासीमा उत्पादन लागत बढेसँगै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात ठप्प भएको महासचिव हेमचन्द्र खनालले बताए ।  जसको कारण नेपाली उद्योगीसँग ६ अर्ब भन्दाबढी को दुग्ध पदार्थका सामान स्टक रहेको छ । तयार गरिएका सामान बिक्री नहुँदा दूध उद्योगहरूले किसानको पैसा समयमा भुक्तानी दिन नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

दुध तथा दुग्ध पदार्थको अत्यधिक स्टकका कारण किसानलाई दूधको रकम भुक्तानी प्रभावित हुन थालेको जानकारी दिदै किसान दुग्ध पेशाबाट पलायन हुने सम्भावना अत्याधिक बढेको उनले बताए । दुग्ध क्षेत्रमा आएको विकराल अवस्थाले आगामी ८ देखि १० महिनापछि सबै व्यवसायीका कृषक पलायन हुने खतरा भएका देखिएको छ । सरकारले दुग्ध क्षेत्रमा लगानी गरेको रकम बालुवामा पानी बराबर हुने अवस्था देखिएको छ ।

नेपालमा  मूल्यवृद्धिका कारण दूधको मूल्य बढेपछि भारतबाट  दूध र दूधजन्य परिकार चोरीको माध्यमबाट आयात हुँदा डेरी  उद्योगको कारोबार खस्किदै बजार तहसनहस भएको डेरी एशोसिएसन नेपाल कोशी प्रदेशका अध्यक्ष गंगाबहादुर खड्काले गुनासो पोखे । अन्तराष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा दूधको मूल्य उच्च भएपछि दूध र दूधजन्य पदार्थ बिक्री नभएर सड्ने अवस्थामा रहेको उनको भनाई थियो ।

यहीँ अवस्था रहेको खण्डमा नेपालका ८० प्रतिशत दूध उत्पादक कृषक पेशाबाट बिस्थापित हुने बताए । उनले मूल्यवृद्धि फिर्ता लिने, यो भन्दा बढी दूध उत्पादनमा रोक लगाउने, उत्पादनको बजारिकरणमा भूमिका खेल्ने लगायतको काम सरकारले तत्काल गर्नुपर्ने बताए ।

एसोसिएसनले दूधजन्य पदार्थको बिक्री नभएपछि आगामी महिनाबाट किसानको रकम भुक्तानी गर्नसमेत नसक्ने अवस्था आउने बताएको छ । हाल नेपालमा दैनिक ७ लाख लिटर दूधको कारोबार हुने गरेको छ भने कोशी प्रदेशमा ३ लाख लिटर कारोबार हुने गरेको छ ।

उनले दूधको अस्वभाविक  मूल्यवृद्धिले किसान र व्यवसायी पलायन हुने खतरा बढ्दै गएको बताए । उनले दूध खरीद गरेर छुर्पी बनाउँदै गरेकोमा अन्य देशले सस्तोमा उत्पादन गरेको छुर्पीले नेपाली उत्पादनलाई विस्थापन गर्न थालेको बताए । एसोसिएसनले पटकपटक राज्यको सम्बन्धित निकायलाई सो विषयमा ध्यानाकर्षण गराउँदासमेत सुनवाई नभएको जनाएको छ । राज्यले समस्या समाधान गर्न विकल्पको रुपमा किसानलाई उत्पादन लागत कम गर्ने उपाय खोज्नुपर्नेमा अव्यवहारिक   मूल्यवृद्धि गरेर दूधमा आत्मनिर्भर बन्दै गएको नेपालको बजारलाई तहसनहस बनाउँदै लगेको उनीहरूको गुनासो छ ।
डेरी एसोसिएसनका केन्द्रीय सदस्य एवम् प्रदेश सचिव अशेषकुमार बुढाथोकीले पत्रकार सम्मेलन सञ्चालन गरेका थिए ।उनले एउटा डेरी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयौंले रोजगार पाएका बताए ।  व्यवसाय धराशायी हुँदा लाखौंको रोजगारी गुम्ने खतरा बढेको उनको भनाई थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर