दाङ । गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गोठालाहरुलाई सम्मान गरिएको छ । श्री योगी आदित्यनाथ फाउण्डेसनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्च आरती गाई रक्षा महोत्सव –२०८०’ मा गाई संरक्षणकालागि क्रियाशील ६ जना गोठालाहरुलाई सम्मान गरिएको हो ।

राष्ट्रिय एवं धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेसनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्यवस्थापन एवं गोवंश (गाई, गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्देश्यसाथ आयोजना गरिएको महायज्ञमा गोठालाहरु तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का राजु शर्मा, भक्तबहादुर बि।क, शिवसिंह बुढाथोकी, नविना वली, लिला घर्ति, रवि शाहीलाई सम्मान गरिएको हो ।

महायज्ञको वाचकमा अन्तराष्ट्रिय स्वर्ण पदकबाट बिभूषण प. अमृतशरण देवाचार्य रहनुभएको छ । महायज्ञमा गोठालाहरुलाई नियमित सम्मान गरिने आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले जानकारी दिनुभयो ।

