Aamsanchar

कास्कीबाट तीन महिला बेपत्ता

Author Image
सोमवार, कार्तिक २०, २०८०

पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो एक महिनामा फरक-फरक समयमा कास्कीबाट बेपत्ता भएका तीन महिलाको खोजीमा सघाउन अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार गत कात्तिक १५ गतेदेखि पोखरा महानगरपालिका–१० गौरीमार्ग बस्ने वर्ष ४० वर्षीया गुमा हमाल बेपत्ता छिन्। कोही कसैलाई नसोधी घरबाट निस्किएकी उनी हालसम्म पनि घरमा नफर्किएको तथा आफन्त र स्टमित्र समेतको सम्पर्कमा नआएको अवस्था छ। बेपत्ता भएको पाँचौँ दिनसम्म पनि हमालको अवस्थाका बारेमा पत्ता नलागेपछि परिवारको तर्फबाट उनको खोजीका लागि प्रहरीमा निवेदन परेको छ।

परिवारले सम्भावित ठाउँहरूमा पुगेर खोजी गर्दा पनि आफ्नो गुमाको अवस्थाको बारेमा पत्ता नलागेपछि उनको हुलियासहित प्रहरीमा निवेदन परेको हो। बागलुङको जैमिनी नगरपालिका–७ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१० गौरी मार्गमा बस्दै आएकी गुमाको वर्ण गहुँ गोरी, मझौला शरीर रहेको तथा विशेष चिन्हको रूपमा नाकमुनि ओठमा कोठी रहेको प्रहरीले बताएको छ।

यस्तै, गत असोज २८ गतेदेखि कास्की पोखरा महानगरपालिका–२५ हेम्जामा बस्दै आएकी ३० बर्सिया सम्झना कामी पनि घरमा कसैलाई थाहा नदिएर बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ। घरमा कसैलाई नसोधी हिँडेकी उनी पनि हालसम्म घरमा फर्की नआएको तथा आफन्त र स्टमित्र समेतको सम्पर्कमा नआएको प्रहरीले बताएको छ। परिवारको तर्फबाट आवश्यक खोजी हुँदा उनी फेला नपरेपछि सम्झनाको खोजीका लागि कास्की प्रहरीमा निवेदन परेको छ। गहुँ गोरो वर्ण, मोटो शरीर र करिब पाँच फिट उचाइ भएकी उनले हराएको बेलामा निलो जिन्स पाइन्ट, कालो ज्याकेट र सेतो टिसर्ट लगाएको प्रहरीले बताएको छ।

कास्कीकै पोखरा महानगरपालिका–२१ कृष्ति बस्ने १८ वर्षीया सिवानी गौतम पनि गत शनिबारदेखि बेपत्ता रहेकी छन्। घरबाट कसैलाई नसोधी हिँडेकी उनी पनि हालसम्म घरमा फर्की नआएको तथा आफन्त वा स्टमित्र कसैको पनि सम्पर्कमा नरहेको प्रहरी नायव उपरीक्षक बिकले बताए।

परिवारका तर्फबाट खोजीका लागि निवेदन परेपछि आफन्तसहित प्रहरीले पनि उनको खोजी गरिरहेको छ। गहुँ गोरो वर्ण, पातलो शरीर र पाँच फिट तीन इन्च उचाइ भएकी सिवानीले बेपत्ता भएको बेलामा कम्व्याड टिसर्ट र कालो सुरुवाल लगाएको तथा खैरो कपाल र थाई कट रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर