Aamsanchar

१० महिनामा आठ लाख नौ हजार ६७८ विदेशी पर्यटक नेपालमा, कुन देशबाट कति आए पर्यटक ?

Author Image
बिहिवार, कार्तिक ३०, २०८०

काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको छ। सन् २०२२ को यही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए।

कुन देशबाट कति आए पर्यटक ?

बोर्डको तथ्यांकअनुसार अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० जना पर्यटक नेपालमा भित्रिएका छन्। अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट आठ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, पर्यटक भित्रिए। यस्तै जर्मनीबाट पाँच हजार ९११, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २९२, श्रीलंकाबाट दुई हजार ५०७ र इटालीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ।

पर्यटन बोर्डका अनुसार सन २०२२ मा एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक नेपालमा भित्रिएका थिए। यो सन् २०२१ को तुलनामा ३०९.७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६.९२ प्रतिशत धेरै हो। सन् २०२२ मा सबैभन्दा बढी भारतीय पर्यटक आएका थिए। त्यसबेला २ लाख ९ हजार १०५ जना भारतीय पर्यटक नेपाल आएका थिए।

सरकार भन्छ – सिजन छ, झनै पर्यटक संख्या बढ्छ

अहिले सिजन नै भएकाले अझै विदेशी पर्यटकको संख्या बढ्ने सरकारको अनुमान छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले कोभिड १९ को महामारीपश्चात् नेपालमा विदेशी पर्यटकको संख्या बढ्दै गएको बताए। ‘अहिले पर्यटककै सिजन छ, मंसिर अझै आउन बाँकी छ,त्यसैले अझै विदेशी पर्यटकको संख्या बढ्छ,’उनले भने। उनका अनुसार अहिले पनि ट्रेकिङ व्यवासायीले पनि अहिले निकै पर्यटकको भीडभाड बढेको बताउने गरेका छन्।

‘विदेशी पर्यटकको एक दम अहिले चहलपहल छ,ट्रेकिङ अफिसहरूमा पनि उत्तिकै भीड छ भन्ने जानकारी छ,’उनले भने।

नेपालीको महान पर्व दशैँ र तिहारसकिएको छ। छठ नजिकिँदैछ। यी पर्वमा पनि उनीहरू रमाउने गरेको उनले बताए। ‘हाम्रा पर्व,कलासंस्कृति हेर्न पनि उत्तिकै रुचाउँछन्। देउसी पनि खेल्न मन पराउँछन्’,उनले भने। श्रोत : थाहा खबर ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर