Aamsanchar

बढ्याे कफीको मूल्य

Author Image
शुक्रवार, मंसिर १, २०८०

काठमाडौं – कफीको मूल्य बढेको छ। कफी प्रतिकिलो ५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बढेको हो। कफी दिवसका सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि तीन प्रकारका कफीको समर्थन मूल्य तोकेर कार्यान्वयनमा ल्याएको हो।

अब वृद्धि भएको मूल्यमा किसानबाट उद्योगी व्यवसायीहरू तथा आम सर्वसाधारणले कफी किन्नुपर्ने छ। सरकारले हरेक वर्ष कफी दिवसमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ।

चालु आर्थिक वर्षमा ‘ए’ ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। गत आवमा प्रतिकिलो ९५ रुपैयाँ थियो।

यससँगैं ‘बी’ ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो ८५ रुपैयाँ राखिएको छ। गत आवमा प्रतिकिलो ८० रुपैयाँ पर्थ्यो। यस्तै, पार्चमेन्ट कफीतर्फ ‘ए’ ग्रेडको कफी प्रतिकिलो ५ सय रुपैयाँ तोकिएको छ। यो गत वर्षको भन्दा २५ रुपैयाँ बढी हो। गत आवमा प्रतिकिलो ४७५ रुपैयाँ थियो।

बी ग्रेडको पार्चमेन्ट कफीको मूल्य प्रतिकिलो ४ सय ५० रुपैयाँ तोकिएको छ। यो गत वर्षभन्दा ३० रुपैयाँ बढी हो। गत आव प्रतिकिलो ४ सय २० थियो।

ड्राई चेरी कफीअन्तर्गत ‘ए’ ग्रेडको प्रतिकिलो २ सय रुपैयाँ तोकिएको छ। यो गत वर्षको भन्दा ३० रुपैयाँ बढी हो। गत आवमा प्रतिकिलो १ सय ७० रुपैयाँ थियो। यससँगै सोही अन्तर्गतको ‘बी’ ग्रेडको कफी प्रतिकिलो १ सय ५० रुपैयाँ पुगेको छ। यो गत आवको भन्दा ३५ रुपैयाँले बढि हो। गत आवमा प्रतिकिलो १ सय १५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।

दिवसका अवसरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपंछी विकास मन्त्री एवम् बोर्ड अध्यक्ष डा. बेदुराम भुसाल नेपालको मध्य पहाडी क्षेत्रका धेरै जिल्लामा गुणस्तरीय कफी उत्पादनको सम्भावना भएको बताए। उक्त क्षेत्रमा सरोकारवालासँग मिलेर बृहत् योजना र स्पष्ट मार्गचित्र निर्माण गर्न आवश्यक रहेको उनले औंल्याए।

यससँगै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालमा कफीको सुरुवात भएको छोटो समयमा नेपाली कफीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताए। उनले भने, ‘कफी उत्पादनका लागि नेपाली भूमि प्रचुर सम्भावनाका रूपमा मानिन्छ। यसको क्षेत्र विस्तार र उत्पादन बढाए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मागअनुसार निर्यात गरी व्यापार घाटालाई कम गर्न सकिन्छ।’

नेपालमा कफी खेती विस्तार हुँदै गएको भए तापनि आत्मनिर्भर भने हुन अझै समय लाग्ने देखिन्छ। बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०७९/८० मा १३ करोड ४ लाख मूल्य बराबरको ७७.८९ मेट्रिक टन कफी निर्यात भएको थियो। तर सोही अवधिमा कफी आयात भने ३२ करोड ५८ लाख मूल्य बराबरको ४५० मेट्रिक टन भएको थियो।

आव २०७८/७९ मा ११ करोड ७० लाख मूल्य बराबरको ६९.५ मेट्रिक टन कफी निर्यात हुँदा १२ करोड ७६ लाख मूल्य बराबरको २७९.८ मेट्रिक टन आयात भएको बोर्डले जनाएको छ।

नेपालमा १९९५ सालमा बर्माबाट कफी ल्याएर गुल्मीको आँपचौरमा खेती सुरु गरिएको थियो। अहिले गुल्मीसँगै अर्घाखाँची, पाल्पा, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङलगायत ४० जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर