Aamsanchar

बंगलादेशमा दूधजन्य पदार्थ निकासीका लागि मुख्यमन्त्री कार्कीले थाले पहल

Author Image
बुधवार, पौष १८, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दूधजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दूधजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

नेपालबाट बङ्गलादेशमा दूधजन्य पदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दूधजन्य पदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन् । दूधजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’ को अवस्था सिर्जना हुनुका साथै यहाँ उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको छ ।

प्रदेशमा उत्पादित दूधजन्य पदार्थ बिक्री नहुँदा दूध डेरी सञ्चालकहरूले पछिल्लो समय किसानसँग दूध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दूधको भुक्तानी दिन सकेका छैनन् । किसानले दूधको भुक्तानी नपाउँदा बिचल्लीमा परेका छन् ।

विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दूधजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले गुनासो पोखे । उनले एकातिर किसानले दूध उत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दूधजन्य पदार्थ बिक्री नहुँदा किसानहरूलाई गत जेठ महिनादेखि नै दूधको भुक्तानी दिन नसकेको सुनाए ।

मुख्यमन्त्री कार्कीले बङ्गलादेशका लागि नेपाली राजदूत भण्डारीलाई दूधजन्य पदार्थमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दूधजन्य पदार्थ निकासीका लागि पहल गरिदिन आग्रह गरेका हुन् । फोन संवादमा राजदूत भण्डारीले बङ्गलादेशको ‘कमर्सियल कमिटी’ मा निर्णय गराएर दूधजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले दूधजन्य पदार्थ उत्पादक सहितको टोली बंगलादेश गएर भए पनि दूधजन्य पदार्थ निकासी गरेर किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर