Aamsanchar

स्काभेटरले तोडफोड गरी नष्ट गरियाे ई–रिक्सा

Author Image
बुधवार, पौष २५, २०८०

खजुरा – नेपालगञ्ज उपमहानगरले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित ई-रिक्सा नष्ट गर्न शुरु गरेको छ। लामो समयदेखि ई-रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई-रिक्सा नष्ट गर्न थालेको हो।

गत मङ्सिर १९ गतेदेखि अवैध रूपमा सञ्चालित ई-रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरले मङ्गलवार पाँच ई-रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई-रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो। नष्ट गरिएका ई-रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए।

यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई-रिक्सा धनी तथा चालककै रोहवरमा कागजात अद्यावधिक भएरनभएका, चेसिज नम्बर मिलेरनमिलेको वा भएरनभएको प्राविधिक जाँच गरेका थिए। उपमहानगरले ई-रिक्सा नियन्त्रण गर्नुअघि पटक-पटक प्रक्रिया पुर्‍याउन आग्रह गरेको थियो।

नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई-रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो। नगरप्रमुख प्रशान्त विष्टले नगरमा अवैध रूपमा सञ्चालित ई-रिक्सा पूर्णरूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगर दृढ भएर लागेको बताए।

‘हामीले पटक-पटक भनेका हौँ, अद्यावधिक गर्न समय पनि दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै ई-रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौँ, अवैध सञ्चालित ई-रिक्सा हामीले नष्ट गर्न शुरु गरेका छौँ’, नगरप्रमुख विष्टले भने, ‘अब हामी निरन्तर अघि बढ्छौँ, नीति नियम र कानुनभन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन।’

उपमहानगरले हालसम्म ६२३ ई-रिक्सा नियन्त्रण लिएको छ। तीमध्ये आवश्यक कागजात र प्रक्रिया पुर्‍याएपछि ५३८ ई-रिक्सा फिर्ता भएका छन्। अझै पनि ८५ ई-रिक्सा नियन्त्रणमै छन्। ती ई-रिक्सामाथि पनि छानबिन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर