Aamsanchar

मेलम्ची पानीको गुणस्तरमा शङ्का नगर्नु सरकारको आग्रह

Author Image
बुधवार, माघ ३, २०८०

काठमाडौं – खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरेको बताएको छ।

विज्ञप्ति जारी गरी मन्त्रालयले पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि क्रमशः सफा पानी प्रवाह हुँदै जाने बताएको छ। यद्यपि पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ।

पानी वितरणका क्रममा अनुगमन गर्नका लागि मेलम्ची खानेपानी विकास समिति आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गरिएको छ। पदमबहादुर कुवँरको संयोजकत्वमा गठित चार सदस्यीय समितिलाई समस्याबारे जानकारी गराउन पनि मन्त्रालयले अपिल गरेको छ।

सरकारले सोमबार काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । २०७८ असार १, साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानीको मुहान क्षेत्र बगरमा परिणत गरेको थियो।

हेडवर्क्स लगायतका संरचना पुरेको थियो। अहिले पनि बाँधे क्षेत्र पूर्णरुपमा निर्माण गरिएको छैन भने पानी वितरण दिगो हुनेमा प्रश्न उठेको छ । फेरि बाढी आउनेबित्तिकै पानी वितरण रोकिने अवस्था छ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर