कनकाई । कुनै पनि काम सानो र ठुलो हुदैन, जबसम्म श्रमलाई समाजले सम्मान गर्न सक्दैन तव सम्म समुदायका नागरिकहरूले आर्थिक उन्नति गर्न सक्दैनन् भन्ने तथ्यलाई जनचेतना फैलाउने उद्देश्यले शिक्षा क्षेत्रमा काम गर्दै आएका पूजा संग्रौला र गायत्री लिम्बुले सुरुंगा बजारमा प्याजी तथा आलु चप को व्यापार सुरु गरेका छन् ।
आज बाट सुरु गरेको खुद्रा व्यापार, १५ दिन सम्म सञ्चालन गर्ने बताईएको छ ।

नितान्त व्यक्तिगत रुपमा समाज प्रति सकारात्मक सोचको विकास गराउने उद्देश्यले सुरु गरेको आलु चप व्यापारमा प्रयोग गरिएका सामाग्रीहरू पन्ध्र दिन पछि कोही व्यक्तिले उक्त व्यवसाय गर्न चाहेमा सम्पूर्ण सामाग्रीहरू हस्तान्तरण गर्ने सोच रहेको पूजा सङ्ग्रौलाले आमसंचारलाई बताएकी छन् ।

संग्रौला र लिम्बू श्री हरिकुल नमुना माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध व्यक्ति हुन् । उनीहरूले विद्यालयको शिक्षण गर्ने काम सकेपछि बेलुका ४ बजे देखि ५ बजेर ३० मिनेट सम्म व्यापार गर्ने बताइएको छ ।
आलु चप व्यापारमा तल्लिन रहँदै गायत्री लिम्बुले भनिन ‘शिक्षकले किताबी ज्ञान मात्र होइन व्यवहारिक ज्ञान दिन पनि सक्नु पर्छ, शिक्षकले सानोसानो काम गरेर देखाएर सम्भावनाको बाटो नदेखेकाहरूलाई गरिखाने बाटो देखाउनु पर्छ ।’


पूजा र गायत्रीले गरेको कामको स्थानीयबासीले प्रशंसा गरेका छन् । उनीहरूले आर्थिक आयश्रोतको उद्देश्य भन्दा सचेतनाको हिसाबले व्यापार सुरु गरेका हुन । दश दिन सम्म गरिने व्यापार बाट प्राप्त हुने आम्दानी रकम कुनै सामाजिक संस्थालाई उपलब्ध गराउने बताइएको छ ।
दुई महिलाले श्रम सम्मानका लागि गरेको प्रयासलाई स्थानीय सामाजिक अगुवाहरूले उदाहरणीय काम भनेका छन् । सबै शिक्षकहरूमा यस्तो गुण हुनुपर्ने धेरैको धारणा रहेको सन्दिप मरासिनीले बताए ।


