Aamsanchar

शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा

Author Image
बुधवार, माघ १०, २०८०

काठमाडौं-सहिद सप्ताहको पहिलो दिन आज (बुधबार)शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, पचलीमा स्मृति सभा आयोजना गरियो । सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो ।

स्मृति सभामा शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भन्नुभयो, ‘नेपाल भाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । बाल साहित्य लेख्ने पनि उहाँ नै पहिलो व्यक्तित्व हो । उहाँहरूले व्यक्तिगत र पारिवारिक समस्याभन्दा राष्ट्रिय स्वाधीनतालाई ठुलो ठान्नुभयो । यही क्रममा उहाँको बलिदानी भएको हो ।’’ सहिदहरूको बलिदानका कारण अहिले नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्त भएको उहाँको भनाइ थियो ।

बोलेको कसुरमा प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको बलिदानीको सम्मानमा धेरै काम गर्न बाँकी छन् । कार्यक्रममा वडा नं। १२ का अध्यक्ष एवम् वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, एक दिन कार्यक्रम आयोजना गरेर नपुग्ने धारणा राख्नुभयो ।

महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दैछ । यी कार्यक्रममाहरुमा सहभागी हुन निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले आग्रह गर्नुभयो ।

कार्यक्रम आयोजना गरिएको स्थानलाई वि।सं २०३५ सालमा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।

पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदहरूको योगदान स्मरण गर्दै, उहाँहरूको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा वि।सं २०१२ सालदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस वर्ष माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदहरूको पूर्ण कदको सालिक उहाँहरूले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको सालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ साल स्थापना गरिएको हो । माथेमाको सालिक उनको जन्म स्थान ओमबहालमा पनि स्थापना गरिएको छ ।

यस वर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । सङ्घीय मन्त्री तथा प्रदेश मन्त्रीहरू, सांसदसहित उच्च पदस्थ पदाधिकारीहरू प्रभातफेरीमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री सिधैँ सहिद पार्कमा जानुहुनेछ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर