विराटनगर – सुनसरीको इटहरी उपमहानगरपालिकाले खोलापैनी मिचेर बनाइएका भौतिक संरचना भत्काउन थालेको छ ।
मंगलबार स्थानीय टेंग्रा खोलाको सिरानबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन थालिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । जग्गा खाली गराउन मेयर पौडेल आफैँ डोजर लिएर खोलापैनी पुगेका थिए ।
उनले भने, “बारम्बार सूचना प्रकाशित गर्दा समेत अटेरी गरेपछि बाध्य भएर डोजर चलाइएको हो ।”
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीका दुवै किनारबाट ६र६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने व्यवस्था छ । खोलापैनीका दुवैतर्फ ६र६ मिटर नछाडीकन निर्मित भवन संरचना हटाउन सुरु गरिएको उपमहानगरले जनाएको छ ।
बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी नगर क्षेत्रमा डुबान हुने गर्छ । उपमहानगरका २० मध्ये विशेष गरी ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बढी डुबानमा पर्ने गरेका छन् । ०७४ मा आएको बाढीका कारण यहाँ नौजनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीमा परेर चारजनाको मृत्यु भएको थियो ।
०४३ सालमा आएको बाढीले टेंग्रा खोलाको सतह पुरिदिएको थियो । त्यसबाट साविक इटहरी–१, ४ र ८ नम्बर वडामा जमिन कम्तीमा १० फुटसम्म डुबानमा परेको थियो । ०५३ सालमा पुनः इटहरी क्षेत्र डुबानमा परेको थियो ।