Aamsanchar

दुईमहिने पर्व मनाए आदिवासी धिमाल जातिले

Author Image
आइतवार, असार २, २०८१

बिर्तामोड –झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी धिमाल जातिले दुई महिनासम्म मनाउने जातिरी तथा सिरिजात पर्व समापन हुँदै छ । धिमाल समुदायले आफ्नो बसोबास रहेको हरेक गाउँटोलमा पुगेर वर्षको एक पटक सामूहिक रूपमा सिरिजात पूजा गर्ने गर्दछन् । वैशाख २ देखि सुरु भएको यो पर्व आइतबार समापन हुँदै छ । प्रत्येक दिन भिन्नाभिन्नै ठाउँमा पूजाआजा र मेला लाग्दै आएको थियो ।

धिमाल जातिले गाउँपूजालाई पुर्खाहरू जङ्गलको वातावरणमा बस्दा भोग्नु परेको चुनौतीबाट बच्न सुरु गरेको परम्परा मान्ने गरेका छन् । परिवारको स्वास्थ्य र खेतीपाती राम्रो होस्, बाढीपहिरो नआओस्, गाईवस्तुलाई रोग नलागोस् र महामारी नलागोस् भनेर गाउँपूजा गरिने गरेको धिमाल अगुवाहरू बताउँछन् ।

सामाजिक अगुवा जितु धिमालका अनुसार गाउँपूजा गर्दा गाउँका देउताहरू, भूतप्रेत र अन्य शक्ति साथसाथै वनजङ्गल, खोलानाला, चरा, मुसा, लामखुट्टेलगायतको पनि पूजा गरिन्छ । सिरिजात पूजामा ग्रामथानबाहिर जङ्गली जनावर र जीवहरूका लागि एउटा सानो थान बनाइन्छ, जसमा चामल, धूप, सुपारी, केरा र अन्य खाने कुरा चराचुरुङ्गी, मुसा जस्ता जङ्गली जीवजन्तुलाई चढाइने गरेको छ । खेती सुरु गर्नुअघि जीवजन्तुलाई ‘आज तिमीहरूलाई म यो यो खान दिन्छु, पछि हाम्रो अन्न पाकेपछि नष्ट नगरिदेऊ, नखाइदेऊ’ भनेर खुसी बनाउन यस प्रकारको पूजा र पर्व मनाइएको किंवदन्ती पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर