Aamsanchar

अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित

Author Image
मङ्गलवार, असार ४, २०८१

काठमाडौं – वेस्ट इन्डिजले जारी नवौं संस्करणको टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार जित निकालेको छ।

वेस्ट इन्डिजको सेन्ट लुसियामा भएको यस संस्करणको समूह चरणको अन्तिम खेलमा घरेलु टोली १ सय ४ रनको फराकिलो अन्तरले विजयी भयो।

वेस्ट इन्डिजले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १६ दशमलब २ ओभरमा अल आउट हुदै १ सय १४ रन मात्र बनाउँन सक्यो।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले २८ बलमा ३८ तथा अजमतुल्लाह उमरजाईले १९ बलमा २३ रन बनाए। करिम जन्नतले ९ बलमा १४ तथा राशिद खानले १८ रन बनाए। वेस्ट इन्डिजका लागि ओबेद म्याकोईले तीन तथा गुणकेश मोटी र अकिल होसेनले समान दुई दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले ५३ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ९८ रनको अर्धशतकीय ईनिङ खेले। जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए। दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ३८ बलमा ८० रनको साझेदारी गरे। कप्तान रोभमन पावलले १५ बलमा २६ रन बनाए । चौथो विकेटका लागि कप्तान पावेल र पुरनले ३८ बलमा ६४ रनको साझेदारी गरे।

अफगानिस्तानका लागि गुलवदीन नाइवले दुई तथा नभिन उल हक र अजमतुल्लाह उमरजाईले समान एक एक विकेट लिए।​

नवौं संस्करणकै एक टिमले बनाएको यो सबैभन्दा उच्च योगफल हो। यस अघि अस्ट्रेलिया र श्रीलंकाले समान २ सय १ रन बनाएका थिए। वेस्ट इन्डिजले टी(२० विश्वकपमा बनाएको पनि उच्च योगफल हो। यसअघि सन् २००७ को पहिलो संस्करणको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध २ सय ५ रन बनाएको थियो।

वेस्ट इन्डिजले अफगानिस्तानलाई टी(२० विश्वकपको ईतिहासमा पहिलो पटक पराजित गरेको हो। वेस्ट इन्डिज र अफगानिस्तानबीच विश्वकपको दोस्रो भेटमा वेस्ट इन्डिज पहिलो पटक विजयी भएको हो।

जितसँगै अपराजित रहँदै घरेलु टोलीले सुपर एटमा स्थान बनाएको छ। यस खेलमा पराजित भए पनि अफगानिस्तानले सुपर एटमा भने स्थान बनाइसकेको छ।

सुपर एटका खेलहरु भोलिबाट सुरु हुनेछन्। भोलि पहिलो अमेरिका र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।

सुपर एटमा दुई समूह विभाजन गरिएको छ। समूह एमा अफगानिस्तान, बंगलादेश, अष्ट्रेलिया र भारत रहेका छन्। समूह बीमा इंग्लयाण्ड, दक्षिण अफ्रिका, अमेरका र वेष्टइन्डिज छन्। दुई समुहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर