Aamsanchar

सुशील प्याकुरेलद्वारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

Author Image
आइतवार, असार ९, २०८१

काठमाण्डौ – सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेको भन्दै सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गर्नुभएको छ ।

मन्त्रिपरिषद्को अस्ति शुक्रवारको बैठकले सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेको थियो । तर आज प्याकुरेलले विज्ञप्ति निकालेर राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित देशको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताउनुभएको छ ।

राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देखेको प्याकुरेलले बताउनुभएको छ ।

सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिन भन्दै आफूले प्रधानमन्त्रीलाई लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेको प्याकुरेलले जानकारी दिनुभएको छ । आफूलाई सरकारले राजदूतमा नियुक्त गरेको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै प्याकुरेलले सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केतसमेत नदिइनु अचम्मको विषय भएको बताउनुभएको छ ।

प्याकुरेल विगत पाँच दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सक्रिय रहनुभएको छ । उहाँ राष्ट्रिय मानव अधिकार आयोगको संस्थापक सदस्य पनि हुनुहन्छ ।

मन्त्रिपरिषद्को बैठकले ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)