Aamsanchar

इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने

Author Image
सोमवार, वैशाख ११, २०७४

इलाम ।

जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

सितोरियो कराँते सङ्घले फिक्कलमा वैशाख १६ र १७ गते फिक्कल बजारमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो । प्रतियोगितामा इलामका २५०, भारतका ३००, श्रीलङ्काका २५ भुटानका १५ र बङ्गलादेशका पनि त्यही हाराहारी खेलाडीले सहभागिता जनाउने सङ्घका अध्यक्ष तथा कराँतेका अन्तर्राष्ट्रिय निर्णायक योगेश चाम्लिङले बताउनुभयो ।

“हामी इलामे खेलाडी नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त छौँ भन्ने लागेर अन्य जिल्लाका साथीहरूलाई बोलाइएन”, चाम्लिङले भन्नुभयो – “जिल्लाकै खेलाडीको क्षमता विकास गर्ने र पहिचान बनाउने प्रतियोगिताको उद्देश्य हो ।” चाम्लिङले जिल्लालाई खेलकुद क्षेत्रमा पनि चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ २० देखि ७५ किलो तौल समूह र त्यसभन्दामाथि खुला गरी २० बेग्लाबेग्लै समूहमा प्रतिस्पर्धा गराइने छ । महिलातर्फ २५ देखि ६५ र त्यसभन्दा माथि खुला गरी ११ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगिताका विजेताले पदक र प्रमाणपत्र पाउनेछन् । विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिने छ । “प्रतियोगितामा खेलाडी छान्न जिल्लाका २२ स्थानमा प्रशिक्षण दिइरहेका छौँ”, अन्तर्राष्ट्रिय निर्णायक चाम्लिङले भन्नुभयो – “जिल्लाका ७०० खेलाडीबाट प्रतियोगितामा भाग लिने अढाइ सय जति छान्नुपर्नेछ ।”

जिल्ला समन्वय समिति, सूर्याेदय नगरपालिका कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, सूर्याेदय होटल सङ्घ, नगरपालिकाका चिया उद्योगलगायतले पनि प्रतियोगिता आयोजनामा सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर