Aamsanchar

सरकारले बढायो धानको समर्थन मूल्य

Author Image
बिहिवार, असार २०, २०८१

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८१र/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा तोकेको छ। यस्तैगरी मध्यम धानको समर्थन मूल्य ३५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

चालु आवको भन्दा मोटा धान २१२ रुपैयाँ र मध्यम धान २१७ रुपैयाँले बढी हो। सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्वीन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धान प्रतिक्वीन्टल ३ हजार ३६३ रुपैयाँ थियो।

यस्तैगरी आर्थिक वर्ष २०७९/८० मा मोटा धान प्रतिक्वीन्टल २ हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँ थियो।

आव २०७८/७९ मा मोटा धान २ हजार ७५२ र मध्यम धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ९०२ रुपैयाँ तोकिएको थियो। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ।

यसअघि गत चैतमा सरकारले पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको थियो। चालु आवका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७०७ रुपैँया २८ पैसा निर्धारण गरिएको थियो।

त्यस्तैगरी १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरिएको थियो। त्यसअघिसम्म वर्षे धानको मात्र समर्थन मूल्य तोक्ने गरिएको थियो।

चालु आवमा देशभर कुल १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। जसमध्ये १३ लाख ३४ हजार २७७ हेक्टर क्षेत्रफलमा वर्षे धान र १ लाख ४ हजार ७१२ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

नेपालमा धानको उत्पादकत्व ३.९८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ। वर्षे धान भन्दा चैते धानको उत्पादकत्व बढी रहेको छ। वर्षे धानको उत्पादकत्व प्रतिहेक्टर ३.९० मेट्रिक टन रहेकोमा चैते धानको उत्पादकत्व ४.९७ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)