खोटाङ-सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान् अपहरणमा परेपछि पुण्यमायाका आँखा कहिल्यै ओभाएनन् । २० वर्षसम्म झरेका आँसुको हिसाब गर्ने हो भने एउटा खोलो नै बन्थ्यो ।
उसो त १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान सुनाएर गाउँले र आफन्तले पुण्यमायालाई सान्त्वना दिन्थे तर १२ मा आठ वर्ष जोडिँदा मात्र उहाँको जीवनको खोलो फर्कियो । श्रीमान् उदयबहादुर खड्का र उहाँकी श्रीमती पुण्यमाया बस्नेत (खड्का) को २० वर्षभन्दा बढी समयपछि जीवनमा भँगालो फाटेको खोलो फर्किएर पुनर्मिलन भएको छ । तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले २०६० मङ्सिरमा अपहरण गरेपछि बेपत्ता भएका जन्तेढुङ्गा गाउँपालिका–५, चिसापानी खुटाका ५३ वर्षीय उदयबहादुर खड्का र उहाँकी श्रीमती पुण्यमाया बस्नेत (खड्का) को असार १७ गते पुनर्मिलन भएको हो ।
खोटाङबाट अपहरण गरी विछोड गराइएका उदयबहादुर भारतको मेघालयको सिलोङमा फेला परेपछि परिवारमा पुनर्मिलन गराइएको हो । उहाँलाई हप्ता दिनअघि सिलोङमा फेला पारेर असार १६ गते विराटनगर ल्याइएको थियो । विराटनगर आएपछि आफ्नै दाजु रेशमबहादुर खड्काको घरमा रहनुभएका उदयबहादुरलाई भेट्न श्रीमती विराटनगर पुग्नुभएको हो ।
अपहरणमा परेयता परिवारको सम्पर्कमा नरहेका उदयबहादुरलाई भोजपुर साल्पासिलिछो गाउँपालिका घर भई हाल मेघालयमा काम गर्दै बसेका मिलन राईले जङ्गल छेउमा भेटेर असार १० गते फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्नुभएको थियो । त्यसपछि परिवारसँग मिलन सम्भव भएको हो ।
अस्वस्थ अवस्थामा सिलोङमा भेटिएका उदयबहादुरलाई छिमेकी एवं जन्तेढुङ्गा गाउँपालिकाका नेपाली कांग्रेसका सभापति बाजिन्द्र विष्टको पहलमा असार १८ गते कोशी अस्पताल विराटनगरमा उपचार थालिएको छ । उहाँ निमोनिया, श्वास परसम्म गन्हाउने, रातभरि खोकी लाग्ने र दिसापिसाब नरोकिने समस्याबाट पीडित हुनुहुन्छ ।
सामान्य आर्थिक अवस्थाका उदयबहादुर र पुण्यमायाका दुई छोरा र दुई छोरी थिए । उदयबहादुर अपहरणमा पर्दा कान्छा छोरा सुरज सात महिनाका मात्रै थिए । चार सन्तानमध्ये जेठो छोरो अनिलको चार वर्षअघि मृत्यु भइसकेको छ । छोरी सिर्जना र सुशीलाले आआफ्नै घरजम बसाइसकेका छन् । कान्छो सुरज वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्रै दुबई पुगेका छन् ।
सुत्केरी अवस्थामा श्रीमान्सँग छुट्नुभएकी पुण्यमाया बुढेसकालमा घरमा एक्लै बन्नुभएको थियो । द्वन्द्वपीडित भए पनि उदयबहादुरका परिवारले हालसम्म राज्यबाट कुनै सेवा सुविधा नपाएको आफन्त श्यामसुन्दर कार्कीले बताउनुभयो । श्रीमान्को अत्तोपत्तो नभएपछि पुण्यमायालाई डेढ वर्षदेखि एकल महिलाको भत्ता दिने व्यवस्था भने मिलाइएको थियो ।
मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि घरेलु हिंसा गरेको उजुरीका आधारमा उदयबहादुरलाई तत्कालीन नेकपा ९माओवादी० का कार्यकर्ताले हात बाँधेर घरबाट लगेका थिए । घरबाट हिँडाएपछि माओवादी कार्यकर्ताले उदयबहादुरलाई ‘कहाँ लगे, कहाँ पुर्याए’ परिवारलाई अत्तोपत्तो थिएन ।
उदयबहादुर ‘ज्युँदो छ वा मरेको छ’ भन्नेबारे अनेकथरीका अड्कलबाजी हुँदै आएको थियो । परिवारले माया मारिसकेको अवस्थामा उदयबहादुर भारतमा जीवित फेला पर्नुभएको हो । अपहरणअघि नेकपा ९माओवादी० का कार्यकर्ताले उदयबहादुरलाई चौतारामा लगेर निर्घात कुटपिट गर्दै ‘सुध्रिन’ चेतावनी दिएका थिए । अपहरणपछि उहाँलाई ‘कहाँ छाडे र उहाँ कसरी सिलोङ पुग्नुभयो’ भन्ने विवरण खुल्न बाँकी नै छ ।
उदयबहादुर सिलोङमा मजदुरी गर्दै पेटपालो गर्ने गरेको बुझिएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई डेराबाट निकालिएको थियो । डेरा नपाएपछि तीन महिनादेखि जङ्गलमा कोइला निकालेको खाल्डोमा बस्दै आएको पाइएको छ । द्वन्द्वकालमा उदयबहादुरका दाजु रेशमबहादुर पनि विस्थापित हुनुभएको थियो । नेपाल प्रहरीको जागिर छाडे पनि रेशमबहादुर गाउँ छाडेर विराटनगर सर्न बाध्य बन्नुभएको बताइएको छ ।