घोराही – यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय निकै टरिसकेको थियो । बेलुका ८ बजे घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।
तुलसीपुर–२ भमकेका ११ वर्षीय बालक घनश्याम पाठकलाई घरको कोठामा सुतिरहेको अवस्थामा असार ६ गते राति सर्पले टोक्यो । सर्पले टोक्नेबित्तिकै घनश्यामले हजुरआमालाई जानकारी गराए । घरभित्र कसरी सर्प आयो होला भनेर हजुरआमालाई विश्वास लागेन । त्यसपछि बत्ती बालेर ओढिराखेको कम्बल फाल्दा सर्प बालकको कम्मरमा बेरिएको थियो । तत्काल उनलाई मोटरसाइकलमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइयो ।
प्रादेशिक अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको ठाउँ पत्ता लगाउन सकेनन् र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरियो । आठ वर्षअघि सर्पकै टोकाइबाट आमा गुमाएका घनश्यामलाई उपचारका क्रममा यही असार ७ गते साँझ ८ बजे डाक्टरले उनलाई बचाउन नसकिने खबर सुनाए ।
यी प्रतिनिधिमूलक घटना मात्रै हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दाङमा आर्थिक वर्ष २०७८/०७९ मा नौ र २०७९/०८० मा ६ जनाको मृत्यु भएको छ । दाङमा चालु आर्थिक वर्षको हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने । १७८ जना सर्पदंशमा परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङले देखाउँछ ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचायले सर्पदंशमा परेका बिरामीले घरपरिवार र समाजमा विद्यमान अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतित हुँदा ज्यान गुमाउने गरेको बताए ।
समयमै अस्पताल पुगिसकेका बिरामीले पनि ज्यान गुमाउनुमा स्वास्थ्यकर्मीकै लापरवाही भएका बिरामीका आफन्त गुनासो गर्छन् । सर्प नचिन्दा र अस्पताल ढिलो आउने गरेका कारण कतिपय व्यक्तिहरुको सर्पदंशबाट ज्यान जाने गरेको चिकित्सकहरु बताउँछन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंशका राष्ट्रिय प्रशिक्षक उमाकान्त तिवारी सर्पले टोकी हाल्यो भने तत्काल अस्पताल पुग्न आग्रह गर्छन् ।
पछिल्लो समय एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्ने भएको हुँदा पनि कतिपयले अकालमै ज्यान गुमाउने गरेको उनले बताए । सर्पले टोकिसकेपछि तत्कालै सर्पको पहिचान गरी अस्पताल पुग्दा अकाल मृत्युको मुखबाट बच्न सकिने उनी बताउँछन् ।
अस्पताल जानुको साटो झारफुकमा विश्वास गर्दा पछिल्लो तीन वर्षमा २५ जनाको मृत्यु भएको छ । सर्पदंशका बिरामी अस्पताल पुगेपछि कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्दैन भन्ने सरकारी नीति छ । तर जिल्लामा कतिपयले झारफुकमा लाग्दा ज्यान गुमाएका छन् भने कतिपयले सर्पको पहिचान गरी अस्पताल पुग्दा पनि मृत्युवरण गर्नुपरेको छ ।