Aamsanchar

भोजपुरकाे अरुण गाउँपालिकाद्वारा चौरासी प्रतिशत खर्च

Author Image
आइतवार, असार ३०, २०८१

भोजपुर-अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३.७३ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले चालु आव २०८०/८१ मा कुल बजेटको ८३.७३ प्रतिशत खर्च भएको बताउनुभयो ।

आव २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ र आव २०८१/८२ को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिकीकरण कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार कुल ४५ करोड ७१ लाख ४८ हजारमध्ये चालु आवको अन्त्यसम्ममा ८३।६५ प्रतिशत अर्थात् ४२ करोड ३४ लाख खर्च गरेको हो । वित्तीय प्रगति विवरण अनुसार चालु खर्चतर्फ ३० करोड ४१ लाख ९७ हजार अर्थात् ९०.१५ प्रतिशत र पुँजीगत खर्चतर्फ ११ करोड ९१ लाख ६८ हजार अर्थात् ७०.८६ प्रतिशत खर्च भएको छ । यो चालु र पुँजीगततर्फ ८३.७३ प्रतिशत हो ।

गाउँपालिकाले आगामी आवमा कृषि, पशुपन्छी, सिप विकास र रोजगारी, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । पालिकामा भएका पूर्वाधार विकाससँगै स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाहलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो ।

त्यस्तै पालिकाले जारी गरेको विभिन्न नीतिमध्ये शिक्षा नीतितर्फ पालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास, अरुण बहुमुखी क्याम्पस सञ्चालन, शिक्षकसँग कार्य सम्झौता, १० बर्से शैक्षिक योजना कार्यान्वयन, मातृभाषासहितको स्थानीय पाठ्यव्रmम, स्वास्थ्य, यातायात, कृषि, पूर्वाधारलगायत नीति सार्वजनिक उल्लेख छ ।

नेकपा (एमाले)अरुण गाउँपालिकाका अध्यक्ष नारायण घिमिरेले जनताका माग र आवश्यकताका आधारमा विकासलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष सुजन खिम्बु राईले नीति कार्यक्रम अनुसार बजेट व्यवस्थापन गरी गाउँका समस्यालाई दीर्घकालीन समाधानमा जोड दिनुभयो । अरुण बाल क्लबकी अध्यक्ष युनिसा बस्नेतले पालिकाले बालबालिकाका क्षेत्रमा गरेका क्रियाकलाप उत्कृष्ट भएको र आगामी दिनमा यसलाई निरन्तरता दिन माग गर्नुभयो ।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२