Aamsanchar

जमिन खन्दा भेटाएको हीराले लखपति बने मजदुर, यसरी भेटाएका थिए

Author Image
शुक्रवार, साउन ११, २०८१

भोपाल – भारतको मध्य प्रदेशका एक मजदुर हीरा भेटाएर धनी बनेका छन्। पन्ना जिल्लामा राजु गौंड नाम गरेका व्यक्तिले खानीमा ठूलो हीरा फेला पारी निकालेका छन्, जसले उनी रातारात लखपति बनेका हुन्।

सरकारी लिलामीमा १९.२२ क्यारेटको उक्त हीराको मूल्य करिब ८० लाख भारतीय रुपैयाँ रहेको छ। राजू गौंडले पन्नामा १० वर्षदेखि खाल्डो खन्ने र बालुवा छान्ने काम गर्दै आएका थिए।

भारतको यी राज्यमा हुन्छ ९० प्रतिशत हीराको उत्पादन

राम्रो हीराका लागि मध्य प्रदेशको पन्ना जिल्ला विश्वप्रसिद्ध छ। यहाँ दुई दर्जनभन्दा बढी हीराखानी छन्। देशको कुल हीरा संसाधनको ९० प्रतिशत हिस्सा मध्य प्रदेशमै छ। यहाँ वार्षिक ८४ हजार क्यारेट हीराको उत्पादन गरिन्छ।

पन्नामा १७ औं शताब्दीदेखि उत्खनन हुँदै आएको छ। भारतमा हीरा उत्पादन गर्ने एकमात्र खानीक्षेत्र रहेको पन्नाको करिब ८० किलोमिटरको क्षेत्रमा हीराखानी छ। उक्त क्षेत्रमा ३ देखि ३० फिटसम्मका गहिरा खाल्डा खनेपछि निस्कने माटो धोएर हीरा निकालिन्छ ।

लिजमा पाइन्छ खानी

हीराका लागि चर्चित पन्नामा कैयौं मान्छेले सरकारसँग खानी लिजमा लिएर हीरा खोज्छन्। भारतमा राष्ट्रिय खनिज विकास निगम (एनएमडिसी)ले उत्खनन हेर्दै आएको छ र केन्द्र सरकारले पन्नाको मझगाउँमा एकमात्र यान्त्रिक हीरा खानी उत्खनन परियोजना सञ्चालन गर्दै आएको छ।

एनएमडीसीले व्यक्ति, परिवार र सहकारी समूहलाई खानी भाडामा दिन्छ। ती मानिस सानातिना औजारको मद्दतले हीरा खोज्ने प्रयास गर्छन्। उनीहरूले खानी निश्चित समयअवधिका लागि २ सयदेखि पाँच सय रुपैयाँमा लिजमा दिइन्छ।

सन् २०१८ मा बुन्देलखण्डका एक मजदुरले पन्नामै डेढ करोडको हीरा भेटाएका थिए। यति महँगो हीरा भेटिनु सामान्य होइन। सरकारी अधिकारी अनुपम सिंहका अनुसार कैयौं मान्छेले पछिल्ला दिनमा सानातिना हीरा भेटाइरहेका छन् ।

यसरी भेटाएका थिए राजुले हीरा

राजुका पिताले पन्ना नजिकको कृण्ण कल्याणपुरपट्टी गाउँमा दुई महिनाअघि खानी भाडामा लिएका थिए। वर्षाको समयमा खेतमा कुनै काम नहुने भएकाले राजुको परिवार पन्नामा खानी भाडामा लिएर हीरा खोज्छ। ‘हामी गरिब परिवार हौं, हाम्रो आयको अन्य स्रोत छैन, सम्पत्तिको आश गरेरै हामी यो काम गर्छौँ’‚ राजुले भने, ‘हीरा भेटाएको कैयौं किस्सा सुनेकोले मैले पनि एक दिन भेट्टाउँछु भन्ने लाग्थ्यो।’

भाडामा लिइएको खानीमा काम गर्न एकाबिहानै पुगेका राजुले खाल्डो खनेर ढुंगा र माटो बाहिर निकालेर छन्नीमा राखेर पानीले पखाले। त्यसपछि ध्यान दिएर स-साना पत्थारमा हीरा खोज्ने प्रयास गरे। बिहानैदेखिको मेहनतको फल उनले दिउँसो पाए। पत्थर धुँदै निकाल्दै गर्दा उनले एउटा टुक्रा काँच जस्तो बस्तु देखे। ‘मैले त्यसलाई उठाएँ, आँखासामु ल्याएँ, विस्तारै प्रकाश, उज्यालो देखियो र मैले हीरा भेटाएको महसुस गरेँ’‚ उनले भने।

त्यसपछि राजूले आफूले भेटाएको हीरा लिएर सरकारी डायमन्ड अफिस पुगे र त्यहाँ हीराको भार तौलिएर मूल्यांकन गरियो। उक्त हीरालाई सरकारी लिलामीमा बोली लगाएपछि सरकारी रोयल्टी र कर कटाएपछि बचेको रकम राजु गौंडले पाउनेछन् ।

राजु हीरा बेचेर पाएको रकमबाट ऋण तिरेर, परिवारका लागि राम्रो घर बनाउन र सन्तानलाई उचित शिक्षा दिन चाहन्छन्। उनी भन्छन्‚ ‘म फेरि खानीमा काम गर्न जान्छु र हीरा खोज्न थाल्छु।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर