काठमाण्डौ – पेरिस ओलम्पिकको पुरुष सय मिटर फ्री–स्टाइल स्विमिङमा नेपालका एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।
आज भएको हिट–३ को प्रतिस्पर्धामा शाहले सय मिटरको दुरी ५१ सेकेन्ड ९१ मिलिसेकेन्डमा पार गरे । गएको फेब्रुअरीमा कतारको दोहामा भएको विश्व च्याम्पियनशिपमा उनले ५२ सेकेन्ड १७ मिलिसेकेन्डमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
हिट्समा तेस्रो भए पनि एलेक्स अघिल्लो चरणमा प्रवेश गर्न भने सकेनन् । १० वटा हिट्सको प्रतिस्पर्धापछि उत्कृष्ट १६ जना खेलाडी अघिल्लो चरणमा पुग्ने नियम छ ।
नेपाललाई प्रतिनिधित्व गर्दै पेरिस पुगेका ६ खेलमा ७ खेलाडीमध्ये यसअघि ४ जना बाहिरिइसकेका छन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन् ।
अब नेपालको तर्फबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ । यस्तै लगातार दोस्रो खेलमा हार बेहोरेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले समूह चरणको अन्तिम खेलमा इजरायलका मिशा जिलबरमनसँग खेल्न बाँकी छ ।