खोटाङ-खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका १० जना महिलालाई उपचारको लागि अस्पताल लगेको छ । आङ खस्ने समस्याबाट प्रताडित महिलालाई पहिचान गरेर गाउँपालिकाले शिर मेमरियल एडभेन्टिज अस्पताल बनेपा निःशुल्क उपचारको लागि गलेको हो ।
गत जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म सञ्चालन गरिएको स्क्रीनिङका क्रममा पहिचान गरिएका आङ खसेका महिलालाई उपचारमा लगिएको
गाउँपालिकाले जनाएको छ । आङ खसेका महिलालाई गाउँपालिकाले सुसो रिजर्भ गरेर लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताउनुभयो । सामुदायिक सेवा प्रतिष्ठानसँगको समन्वयमा उपचारमा लगिएको महिलाहरूको अप्रेसनसहितको निःशुल्क उपचार हुनेछ । आउनेजाने र खाने,बस्ने खर्च गाउँपालिकाले व्यवस्थापन गरेको अधिकृत रेग्मीले बताउनुभयो ।
आङ खसेका महिलाको उपचारमा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिलाकुमारी गुरुङ, स्वास्थ्य शाखा संयोजक कौशल अधिकारी, सिनियर अहेव प्रदीप पोखरेल, अहेव तेजेन्द्रप्रकाश रेग्मी लगायत कर्मचारीको टोली अस्पताल गएका छन् ।
रावा बेसी गाउँपालिकामा ६ वडा रहेको छ । सामुदायिक सेवा प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाले वडा–वडामा पुगेर ३१५ जनाको स्क्रीनिङ गर्दा ४० जनाको शरीरमा रिङ प्रेसरी राखिएको थियो । रङ प्रेसरी राखेर उपचार सम्भव नभएका महिलाहरूलाई भने उपचारका लागि अस्पताल लगिएको गाउँपालिकाले जनाएको छ ।