Aamsanchar

क्यान्सर पिडित बिरामीको मृत्यु प्रकरणमा दुई जना नर्स निलम्बनमा, १० गुणा बढी किमो दिएकाे दाबी

Author Image
बिहिवार, साउन १७, २०८१

चितवन – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु प्रकरणमा दुई जना नर्स निलम्बनमा परेका छन् ।

क्यान्सरका बिरामीलाई आवश्यकभन्दा धेरै मात्रामा किमो दिएपछि मृत्यु भएको थियो । नर्सहरू प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । यस्तै दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण मागेर सचेत गराइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताउनुभयो ।

अस्पतालले दिएको जानकारीअनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उहाँको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा धेरै किमो दिएपछि गुरुङको गएको असार १३ गते मृत्यु भएको महतोले बताउनुभयो । बिरामीको उपचारमा लापर्बाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई जना चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ ।

अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर