विराटनगर – मोरङमा तीव्र गतिमा रहेको स्कुल बसले ठक्कर दिँदा आइतबार बिहान साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।
ठाकुरलाई बिहान ९:४५ बजेतिर बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।
बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार बसमा विद्यार्थी थिएनन् । बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले दुर्घटनाको थप अनुसन्धान अघि बढाएको छ ।